‘चिरञ्जीवी भवः’को सेटमा जातीय विभेद र दुर्व्यवहार भयाे- अभिनेत्री काजल कर्ण

0 Shares

काठमाडौं। अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवी भवः’ को सुटिङका क्रममा आफूले जातीय पहिचानका आधारमा विभेद, अपमान र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्। उनले शुक्रबार फेसबुकमार्फत लामो स्टाटस लेख्दै फिल्मको सेटमा आफूले भोगेको अनुभव सार्वजनिक गरेकी हुन्।

काजलले आफूले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतमा अभिनय गरिसकेको उल्लेख गर्दै ‘चिरञ्जीवी भवः’ मा काम गर्ने अवसरलाई आफ्नो करिअरको महत्वपूर्ण उपलब्धि ठानेको बताएकी छन्। तर सुटिङ सुरु भएदेखि नै आफूलाई सम्मानजनक व्यवहार नगरिएको उनको दाबी छ।

Actress Kajal Karn Alleges Discrimination and Mistreatment on the Set of ‘Chiranjivi Bhava’

उनका अनुसार डिजाइनरले पोसाकको व्यवस्था नगरेपछि आफ्नै खर्चमा लुगा मिलाउन भनिएको थियो। साथै, प्रोडक्सन टोलीले कलाकारलाई लिन गाडी पठाउने वाचा गरे पनि अन्तिम समयमा आफैं यातायात मिलाएर सेटमा पुग्न भनिएको उनले उल्लेख गरेकी छन्।

काजलले मेकअप रुममा प्रवेश गर्दा आफूलाई अपमानजनक व्यवहार गरिएको, मुख्य अभिनेत्रीको मेकअप भइरहेका बेला त्यहाँ बस्न नदिइएको तथा मेकअप आर्टिस्टहरूले आफ्नो मधेशी पहिचान र छालाको रङलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोप लगाएकी छन्। उनका अनुसार आफूलाई ‘मधेशी’ भन्दै बारम्बार व्यंग्य गरिएको, गाई–भैँसीसँग जोडेर होच्याउने अभिव्यक्ति प्रयोग गरिएको र जानीजानी अनुहारमा कालो मेकअप गरिएको थियो।

उनले स्क्रिप्टमा नभएका दृश्यसमेत गर्न बाध्य पारिएको दाबी गरेकी छन्। आफूलाई फोहोर उठाउने र कुचो लगाउने दृश्यमा प्रयोग गरिएको तथा कलाकारको रूपमा नभई मजदुरसरह व्यवहार गरिएको उनको भनाइ छ।

काजलका अनुसार बाँकी पारिश्रमिक मागेपछि प्रोडक्सन टोलीले आफूलाई इटहरी बोलाए पनि त्यहाँ पुग्दा आफ्नो स्थानमा अर्कै कलाकारलाई राखिएको थाहा भएको थियो। आफूलाई कुनै पूर्वजानकारी नदिई फिल्मबाट हटाइएको र त्यसपछि पनि पारिश्रमिक भुक्तानीमा आनाकानी गरिएको उनले आरोप लगाएकी छन्।

फेसबुक स्टाटसको अन्त्यमा काजलले यो घटना केवल आफ्नो व्यक्तिगत पीडा नभई नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपरेको विभेदको प्रतिनिधि उदाहरण भएको उल्लेख गरेकी छन्। उनले आफ्नो पहिचानका कारण अपमान सहनुपरेको भन्दै यस्तो व्यवहारविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यसबारे मेरो पिक्चर डट कमले प्रश्न गर्दा निर्देशक दीपकप्रसाद आचार्यले होटेल पुगेर स्टाटस पढेर प्रतिक्रिया दिने जनाएका छन्।

सम्बन्धित समाचार

सबै