दीपककाे ६ बुँदे स्पष्टीकरणमा काजाेलकाे बुँदागत खण्डन , भन्छिन्– सत्य डग्दैन, केवल समयलाई पर्खिरहन्छ

0 Shares

अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवी भवः’का निर्देशक दीपकप्रसाद आचार्यले सार्वजनिक गरेको ६ बुँदे स्पष्टीकरणको कडा प्रतिवाद गर्दै आफूमाथि सेटमा रंगभेद, अपमानजनक व्यवहार, पारिश्रमिक रोकिएको तथा व्यावसायिक मर्यादा उल्लंघन भएको आरोप दोहोर्‍याएकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा कर्णले निर्देशक आचार्यको स्पष्टीकरणलाई “सत्यलाई बंग्याउने प्रयास” भन्दै आफूले सेटमा भोगेको पीडा र अपमानलाई कुनै पनि स्पष्टीकरणले मेट्न नसक्ने बताएकी छन्।

उनले छ बुँदामार्फत निर्देशकको दाबीको खण्डन गर्दै मेकअप आर्टिस्टबाट आफ्नो मधेशी पहिचानलाई लक्षित गरी अपमानजनक टिप्पणी गरिएको आरोप लगाएकी छन्।

“मधेशी भएपछि कालो मेकअप नै सुहाउँछ” र “गाई–भैँसीलाई कसरी बोलाउँछन्, बोलाएर देखाऊ” जस्ता अभिव्यक्तिले आफूलाई गम्भीर रूपमा अपमानित गरेको उनको दाबी छ। यस्तो व्यवहार हुँदा निर्देशक मौन बसेको भन्दै उनले त्यसलाई दुव्र्यवहारको मौन समर्थन भएको आरोप लगाएकी छन्।

कर्णले सुटिङ अवधिभर दोस्रो किस्ताको पारिश्रमिक र दैनिक खर्चका लागि पटक–पटक आग्रह गर्नुपरेको तर रकम नपाएको उल्लेख गरेकी छन्। पैसा नपाएसम्म सुटिङमा उपस्थित नहुने आफ्नो निर्णयलाई अनुशासनहीनता भन्न नमिल्ने भन्दै उनले कलाकारको श्रमको उचित मूल्य नतिर्नु नै मुख्य समस्या भएको जिकिर गरेकी छन्।

निर्देशकले तेस्रो किस्ता मात्र बाँकी रहेको दाबी गरेको विषयलाई पनि उनले अस्वीकार गर्दै दोस्रो किस्ताकै रकमका लागि लामो समयसम्म आग्रह गर्नुपरेको बताएकी छन्।

यस्तै, आफ्नो मधेशी पहिचानबारे निर्देशकलाई पछि मात्र थाहा भएको दाबीलाई उनले अविश्वसनीय भन्दै फिल्म सम्झौता गर्ने क्रममा आफ्नो परिचय र पृष्ठभूमिबारे जानकारी लिइएको उल्लेख गरेकी छन्।

कर्णले इटहरी बोलाएर आफूलाई जानकारी नै नदिई अर्को कलाकारलाई आफ्नो भूमिकामा मेकअप गराइएको आरोप पनि लगाएकी छन्। कुनै औपचारिक जानकारी वा व्यावसायिक प्रक्रिया बिना आफ्नो भूमिका खोसिएको भन्दै उनले यसलाई कलाकारको सम्मानमाथिको प्रहार भएको बताएकी छन्।

स्क्रिप्टमा उल्लेख नभएका केही दृश्यबारे पनि उनले प्रश्न उठाउँदै आफूलाई मधेशी भएकै आधारमा निश्चित प्रकारका भूमिकामा सीमित गर्न खोजिएको संकेत गरेकी छन्। गोबर सोहोर्ने वा फोहोर उठाउने दृश्यप्रति आफूलाई कुनै आपत्ति नरहे पनि त्यस्ता दृश्य स्क्रिप्टमा नरहेको र पछि थपिएको भन्दै उनले त्यसको नियतमाथि प्रश्न उठाएकी छन्।

वक्तव्यको अन्त्यमा कर्णले यो विषय अब व्यक्तिगत विवाद मात्र नभई नेपाली फिल्म क्षेत्रमा हुने रंगभेद, श्रम शोषण र कलाकारको सम्मानसँग जोडिएको मुद्दा भएको बताएकी छन्।

यसअघि निर्देशक दीपकप्रसाद आचार्यले सार्वजनिक रूपमा ६ बुँदे स्पष्टीकरण जारी गर्दै काजल कर्णका आरोप अस्वीकार गरेका थिए।

सम्बन्धित समाचार

सबै