‘अक्षरा’को डबिङ सकिन् न्यान्सीले, भन्छिन्– ‘पात्रलाई न्याय दिन सकेकोमा खुसी छु’

0 Shares

काठमाडौं। आगामी भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य अन्तिम चरणमा पुगेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले पोस्ट–प्रोडक्सनलाई तीव्रता दिएको हो।

यसैक्रममा अभिनेत्री न्यान्सी खड्काले शुक्रबार आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय हेरेपछि उनी उत्साहित देखिएकी थिइन्। आफ्नो पात्रलाई न्याय गर्न सफल भएको महसुस भएको भन्दै उनले फिल्मप्रति थप उत्साह व्यक्त गरेकी छन्।

सुपरहिट फिल्म ‘१२ गाउँ’ बाट अभिनय यात्रा सुरु गरेकी न्यान्सीका लागि ‘अक्षरा’ मुख्य अभिनेत्रीका रूपमा पहिलो फिल्म हो। यसअघि उनी अभिनेता अनमोल केसीसँग ‘बाटुलो जून’ मा पनि अभिनय गरिसकेकी छन्, जुन प्रदर्शनको तयारीमा छ। एकल मुख्य भूमिकाको जिम्मेवारी भएकाले यस फिल्मका लागि आफूले निकै मेहनत गरेको उनले बताएकी छन्।

फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि न्यान्सीले सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा कम्युनिकेसन स्टडिजमा स्नातक तथा साइकोलोजीमा माइनर अध्ययन गरेकी थिइन्। अमेरिकामा रहँदा उनी मोडलिङमा पनि सक्रिय थिइन् र अन्तर्राष्ट्रिय Movair Paris Magazine मा समेत फिचर भएकी थिइन्। उनी मिस नेपाल इन्टरनेसनल २०२२ की विजेता पनि हुन् र जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

फिल्ममा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ। कलाकारहरूको टोलीमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्का रहेका छन्। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्ममा सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको छ। विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।

फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्। दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’ लाई नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै