‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, पारिवारिक कथाको संकेत

0 Shares

आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। मुख्य कलाकारहरूलाई समेटिएको पोस्टरले फिल्मको पारिवारिक कथावस्तुको झल्को दिएको छ।

पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ हल्दी समारोहमा देखिएका छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि पोस्टरमा छन्। विवाहअघि मनाइने हल्दी समारोहको रमाइलो वातावरण, आकर्षक सजावट र कलाकारहरूको पहिरनले सम्पन्न परिवारको विवाह समारोहलाई चित्रण गरेको छ। नम्रता श्रेष्ठको हातमा हुनेवाला दुलाहालाई बधाई दिन ल्याइएको बुके देखिन्छ भने मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा प्रस्तुत छन्, जसले उनको पात्र शारीरिक रूपमा अशक्त रहेको संकेत गर्छ।

पारिवारिक माहोलमा तयार गरिएको पोस्टरले फिल्म पारिवारिक ड्रामामा आधारित रहेको स्पष्ट पार्दै सपरिवार हलमा आएर फिल्म हेर्न दर्शकलाई आमन्त्रण गरेको छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो फिल्म अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको छ। ‘माया भनेकै यस्तो होला’ मार्फत रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’‘मालिका’ निर्देशन गरिसकेकी छन्। यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो।

यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र विशेष भूमिकामा उषा खड्गीको अभिनय रहेको छ। साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि महत्वपूर्ण भूमिका छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र पारिवारिक सम्बन्धलाई प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ।

फिल्ममा सुदीप बरालको छायाङ्कन, प्रशान्त सिवाकोटीको संगीत, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सुजेनी मल्लको वेशभूषा डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम) को प्रोडक्सन रहेको छ।

फिल्मलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै