‘गौंथली’को अमेरिका प्रदर्शन अधिकार बिक्री, साउन ८ देखि अमेरिकाका प्रमुख शहरमा प्रदर्शन

0 Shares

काठमाडौं। आगामी साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘गौंथली’ को अमेरिका प्रदर्शन अधिकार (यूएसए राइट्स) बिक्री भएको छ। अमेरिकास्थित वितरण कम्पनी सेभेन सिस इन्टरनेसनल फिल्मसले फिल्मको अमेरिका अधिकार खरिद गरेको हो।

सम्झौतापत्रमा फिल्मका निर्देशक डा. कपिल रिजाल, अभिनेता अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीले हस्ताक्षर गरेका छन्।

प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री प्रक्रिया अघि बढाएको हो। निर्देशक रिजालका अनुसार ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएसँगै विदेशी बजारबाट फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारबारे चासो र माग बढिरहेको छ।

नेपालमा साउन १ गते प्रदर्शनमा आउने ‘गौंथली’ अमेरिकामा भने त्यसको एक सातापछि साउन ८ गते (जुलाई २४) देखि विभिन्न प्रमुख शहरमा एकसाथ प्रदर्शन हुनेछ।

निर्देशक रिजालले फिल्मप्रति दर्शकको उत्साह बढ्दै गएको उल्लेख गर्दै ओभरसिज बजारबाट निरन्तर सोधपुछ भइरहेको बताए।

फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। ट्रेलर सार्वजनिक भएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेका छन्, जसका कारण फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौंथली’ नेपाली फिल्म इतिहासकै पहिलो गीति (म्युजिकल) फिल्मका रूपमा परिचित छ। अहिले सोही नामलाई निरन्तरता दिँदै उनका छोरा डा. कपिल रिजालले नयाँ कथासहित ‘गौंथली’ निर्देशन गरेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ। बालकलाकार अंशु ओली र प्रिन्स नेपाली पनि फिल्ममा देखिएका छन्।

फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। फिल्ममा हरि हुमागाईंको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

सम्बन्धित समाचार

सबै