निर शाह निर्देशित ‘कमला मिस’को पोस्टर सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा आउने

0 Shares

काठमाडौं। वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित फिल्म ‘कमला मिस’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। मनोवैज्ञानिक तथा भावनात्मक कथावस्तुमा आधारित यो फिल्म आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेको दृश्य प्रस्तुत गरिएको छ। पोस्टरले आमा–सन्तानबीचको गहिरो सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षलाई संकेत गर्दै फिल्मको संवेदनशील कथावस्तुको झलक दिएको छ।

प्रसिद्ध साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले ‘कमला मिस’ मार्फत सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेर फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।

फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

प्राविधिक टोलीमा शिवराम श्रेष्ठको छायाङ्कन, मिलन विक्रम शाहको सम्पादन, युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रेनिश फागोको रङ संयोजन, मुकेश शाहको ध्वनि मिश्रण, भोला सुवेदीको निर्माण व्यवस्थापन तथा सगर बोहराको मुख्य सहायक निर्देशन रहेको छ।

‘कमला मिस’ लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै