‘गौँथली’को प्रचारमा सिम्रन खड्का डोको बोकेर सडकमा, दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट

0 Shares

काठमाडौं। फिल्म ‘गौँथली’ की मुख्य अभिनेत्री सिम्रन खड्का शनिबार काठमाडौं र ललितपुरका व्यस्त सडकमा डोकोमा घाँस बोकेर देखिइन्। फिल्मको प्रचारलाई फरक शैलीमा प्रस्तुत गर्दै निर्माण टिमले उनलाई फिल्मकै पात्रको वेशभूषामा दर्शकमाझ उतारेको हो।

बसन्तपुर र पाटन क्षेत्रमा पुगेकी सिम्रनले दुई हजारभन्दा बढी दर्शकसँग प्रत्यक्ष भेट गर्दै ‘गौँथली’ हेर्न आग्रह गरिन्। उनले फिल्मको कथा र जानकारी समेटिएको ब्रोसर वितरण गर्दै दर्शकलाई हलसम्म आउन निमन्त्रणा दिइन्।

सिम्रनका अनुसार धेरै दर्शकले फिल्मको ट्रेलर र अन्तर्वार्ता हेरेपछि ‘गौँथली’ हेर्ने निर्णय गरिसकेको बताएका थिए। केहीले भने फिल्म प्रदर्शन भइसकेको ठानेर हलसम्म पुगेको अनुभवसमेत सुनाएको उनले बताइन्।

“नयाँ तरिकाले दर्शकमाझ पुगेर प्रत्यक्ष रूपमा फिल्म हेर्न आग्रह गर्न पाउँदा निकै रमाइलो लाग्यो। दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया र समर्थनले थप आत्मविश्वास दिएको छ,” सिम्रनले भनिन्।

निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ यतिबेला प्रदर्शनअघि नै चर्चामा छ। आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि फिल्ममा देखिनेछन्।

फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। हरि हुमागाईंको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको फिल्म प्रदर्शनको तयारीमा छ।

सम्बन्धित समाचार

सबै