काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसद निनुकुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि भएको भनिएको दुर्व्यवहारको विषय उठाउँदै घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेकी छन्।
शून्य समयमा बोल्दै सांसद कर्णले मधेशकी छोरी तथा अभिनेत्री काजल कर्णले सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरिरहेको उल्लेख गर्दै आफूले हिजो काजलसँग टेलिफोनमा समेत कुराकानी गरेको बताइन्। उनले काजलमाथि भएको भनिएको अपमानजनक व्यवहारप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराइन्।
सांसद कर्णका अनुसार ३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियो तथा फिल्ममा अभिनय गरिसकेकी काजललाई नेपाली फिल्म ‘चिरञ्जीवी भवः’ को छायांकनका क्रममा मधेशी भएकै कारण विभेदपूर्ण व्यवहार गरिएको आरोप छ।
उनले काजललाई ‘तिमी मधेशी हौ, यो भूमिका तिमीलाई सुहाउँदैन’ भन्दै मेकअपका क्रममा अनुहारमा कालो दल्ने, आश्रममा काम गर्ने र गाईगोठालो हेर्ने पात्र भन्दै होच्याउने, हाँस्ने र खिल्ली उडाउनेजस्ता व्यवहार भएको दाबी गरिन्। काम गरेबापत पारिश्रमिकसमेत नदिई दुर्व्यवहार गरेर सेटबाट निकालिएको भन्दै काजल आफूसँगको टेलिफोन संवादमा भावुक बनेको सांसद कर्णले बताइन्।
सांसद कर्णले मधेशी तथा अन्य पिछडिएका समुदायले कहिलेसम्म विभेदको पीडा भोग्नुपर्ने भन्दै प्रश्न गरिन्। उनले यस्तो अपमानजनक व्यवहारले गम्भीर मानसिक असर पार्न सक्ने उल्लेख गर्दै यस्ता घटनाले फेरि आत्मदाहजस्ता दुःखद अवस्था निम्त्याउन नहुने बताइन्।
उनले काजल कर्णमाथिको अपमानलाई समग्र मधेश र मिथिलाका छोरी–चेलीमाथिको अपमानको रूपमा व्याख्या गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिन्।