‘पार्वती’को ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल, ३० हजारभन्दा बढी भिडियो बने

0 Shares

निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाको बहुप्रतिक्षित नेपाली फिल्म ‘पार्वती’ को प्रचारात्मक गीत ‘नौतुना रेलैमा’ सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन्। टिकटकसँगै फेसबुक र युट्युबमा पनि गीतले उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ।

गीतको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउन निर्माण टिमले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ घोषणा गरेको थियो। प्रतियोगितामा सहभागी हुन दर्शकले उक्त गीतमा सिर्जनात्मक भिडियो तयार गरी टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो।

निर्माण टिमका अनुसार प्रतियोगिताका उत्कृष्ट तीन विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै पाँच जना सहभागीलाई फिल्मको निःशुल्क टिकट पनि प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनेहरूले भिडियो पोस्ट गर्दा #पार्वती #भाद्र१२ #नौतुना_रेलैमा ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो। उत्कृष्ट भिडियो र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिने निर्माण पक्षले जनाएको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ। नेपाली विवाह संस्कृतिको रत्यौली परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिएको भिडियोमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन् भने नीता ढुङ्गाना पारम्परिक महिलाको पहिरनमा प्रस्तुत भएकी छन्।

नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको ‘पार्वती’ मा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा र पटकथा नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले तयार गरेका हुन्। सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्।

नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षका अनुसार गीतको बढ्दो लोकप्रियताले फिल्मप्रति दर्शकको उत्सुकता समेत उल्लेखनीय रूपमा बढाएको छ।

सम्बन्धित समाचार

सबै