भक्तपुरबाट सुरु भयो ‘रातो घेरा’को छायांकन, ३० दिने पहिलो सेड्युलमा व्यस्त निर्माण टिम

0 Shares

काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनाबाट प्रेरित नेपाली फिल्म **‘रातो घेरा – द रेड सर्कल’**को छायांकन भक्तपुरबाट औपचारिक रूपमा सुरु भएको छ। **विश्राम फिल्मस् प्रा.लि.**को प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

पहिलो चरणमा भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थानमा फिल्मका महत्वपूर्ण दृश्य खिचिनेछन्। निर्माण टिमले यही सेड्युलभित्र पहिलो चरणको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको छ।

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यको कथावस्तुमा आधारित फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङको अभिनय रहेको छ। निर्माण पक्षका अनुसार अनुभवी कलाकारसँगै केही नयाँ अनुहारलाई पनि फिल्ममार्फत अवसर दिइएको छ।

फिल्मका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सुमन गुरुङ र खेम राना सह-निर्माताको भूमिकामा छन्। निर्माण टिमले विषयवस्तु र निर्माण शैली दुवै हिसाबले फिल्मलाई फरक स्तरमा प्रस्तुत गर्ने लक्ष्य लिएको जनाएको छ।

निर्देशक अनिल बुढा मगरका अनुसार वास्तविक घटनाबाट प्रेरित कथा भएकाले छायांकनदेखि कलाकारको अभिनयसम्म स्वाभाविकपनलाई विशेष प्राथमिकता दिइएको छ।

फिल्मको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन्। शिशिर बिसंखे छायाकार रहेका फिल्ममा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत रहेको छ। जीवन थापा सम्पादक हुन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकका रूपमा कार्यरत छन्। सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन्।

निर्माण पक्षका अनुसार पहिलो चरणको छायांकन सकिएलगत्तै पोस्ट-प्रोडक्सनको काम सुरु गरिनेछ। फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।

‘रातो घेरा – द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। सत्य घटनामा आधारित कथावस्तु, अनुभवी कलाकारको टोली र बलियो प्राविधिक टिमका कारण फिल्म यस वर्षका बहुप्रतीक्षित नेपाली फिल्ममध्ये एक हुने निर्माण पक्षको विश्वास छ।

सम्बन्धित समाचार

सबै