काठमाडौं । निर्माता जनक घर्ती मगरले आफ्नो नयाँ नेपाली फिल्म **‘आकाश वर्षा’**को औपचारिक घोषणा गरेका छन्। टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। हालै प्रदर्शनमा आएको **‘मितज्यू’**पछि उनले नयाँ फिल्म निर्माणको तयारी अघि बढाएका हुन्।
जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक गरिएको टाइटल पोस्टरमा बादल, हल्का वर्षा र पहाडी दृश्यलाई समेटिएको छ, जसले जीवनका दुःख, सुख, संघर्ष र आशाको भावलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ।
निर्माता जनक घर्ती मगरका अनुसार ‘आकाश वर्षा’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हुनेछ।
“हाम्रो यो फिल्म विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ,” निर्माता जनकले बताएका छन्।
फिल्मका कलाकार, छायांकन तालिका तथा अन्य प्राविधिक टिमबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
पछिल्ला वर्षहरूमा नेपाली फिल्म उद्योगमा प्रेमकथामा आधारित फिल्म कम निर्माण भइरहेका बेला जनक घर्ती मगरले यही विधामा नयाँ फिल्म ल्याउन लागेका हुन्। यसअघि उनले सामाजिक कथावस्तुमा आधारित ‘घरज्वाइँ’ र ‘मितज्यू’ निर्माण गरेका थिए।
निर्माताकै परिकल्पनामा बन्न लागेको **‘आकाश वर्षा’**को कथा तथा पटकथा अमीर मगरले लेखेका हुन्।
जनक घर्ती मगरले निर्माण गरेका ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल फिल्मका रूपमा स्थापित भएको थियो भने **‘मितज्यू’**ले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।
नयाँ फिल्म **‘आकाश वर्षा’**को देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्ने भएको छ।