काठमाडौं । नेपाली फिल्म ‘हजारौँमा एक’को औपचारिक निर्माण घोषणा गरिएको छ। निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्न लागेको फिल्म एक्सन–एड्भेन्चर विधामा आधारित हुनेछ।
निर्माण टिमका अनुसार फिल्म रहस्य, साहसिक यात्रा र अलौकिक कल्पनालाई केन्द्रमा राखेर निर्माण गरिनेछ। भव्य दृश्य प्रस्तुति, आधुनिक प्रविधि र फरक कथाशैलीमार्फत नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।
फिल्मको निर्देशन सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले गर्नेछन्। फिल्मको परिकल्पना सीता मायाले गरेकी हुन्। उनी नै प्रस्तुतकर्ता पनि हुन् भने दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन्। चर्चित छायाकार हरि हुमागाई फिल्मका निर्देशक छायांकन (डीओपी) रहनेछन्।
फिल्मको मूल भाषा नेपाली हुनेछ। अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै यसलाई हिन्दी र मलयालम भाषामा पनि डब गरिने निर्माण पक्षले जनाएको छ। निर्माण टिमका अनुसार फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता मलयालम फिल्म उद्योगसँग आबद्ध छन्। मुख्य अभिनेतासहित अन्य कलाकारबारे विस्तृत जानकारी फिल्मको फर्स्ट लुकसँगै सार्वजनिक गरिनेछ।
निर्देशक आचार्यका अनुसार फिल्ममा मलयालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकको पनि सहभागिता रहनेछ। यद्यपि अधिकांश कलाकार तथा प्राविधिक टोली नेपाली फिल्म उद्योगकै रहनेछन्।
फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवादसहित परिमार्जन गर्ने जिम्मेवारी लेखक शान बस्नेतले पाएका छन्। छायांकन फागुन–चैतदेखि सुरु गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
करिब चार करोड रुपैयाँको अनुमानित बजेटमा निर्माण हुने ‘हजारौँमा एक’ नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा छायांकन गरिनेछ। अलौकिक कथा, एक्सन, साहसिक यात्रा र आधुनिक फिल्म प्रविधिको संयोजनले फिल्मले स्वदेशीसँगै अन्तर्राष्ट्रिय दर्शकलाई पनि आकर्षित गर्ने विश्वास निर्माण टिमको छ।