साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरले पश्चिम नेपालको छाउप्रथालाई केन्द्रमा राख्दै महिलामाथि हुने सामाजिक विभेदको कथा प्रस्तुत गरेको छ।
ट्रेलरमा महिनावारी भएका कारण एक किशोरीलाई विद्यालय जान रोकिएको तथा २१ दिनसम्म बुबा र पुरुष सदस्यहरूको अनुहार हेर्न नहुने जस्ता परम्परागत मान्यताहरू देखाइएको छ। फिल्मले यिनै अन्धविश्वासविरुद्ध चेतना जगाउने प्रयास गरेको संकेत ट्रेलरबाट मिल्छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनामा आधारित रहेको बताइन्। उनले देश परिवर्तनका लागि एउटा ‘हली’ नै पर्याप्त हुने भन्दै परिवर्तनका लागि केवल राजनीतिक भाषण पर्याप्त नहुने धारणा राखिन्।
निर्देशक ओम प्रतीकले पनि पश्चिम नेपालमा पहिलो महिनावारी हुँदा छाउगोठमा राख्ने प्रचलनलाई आधार बनाएर फिल्म निर्माण गरिएको बताए। उनका अनुसार चेतनाको दायरा फराकिलो बनाउन सकियो भने औपचारिक शिक्षाभन्दा पनि समाज परिवर्तन सम्भव हुन्छ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको फिल्मको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि फिल्मको मुख्य भूमिकामा देखिएका छन्।
फिल्मको प्रचारात्मक गीतमा दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मालगायत कलाकारको अभिनय रहेको छ। उक्त गीत दर्शकमाझ लोकप्रिय भइसकेको निर्माण पक्षले जनाएको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ले देश परिवर्तनका लागि एउटा सचेत व्यक्तिको भूमिका कति महत्वपूर्ण हुन सक्छ भन्ने सन्देश दिने निर्माण पक्षको दाबी छ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जस्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्।
नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।