सम्राज्ञी मुख्य भूमिकामा ‘एक्का मिस्सी बादशाह’ घोषणा, सञ्जय राईले निर्देशनमा डेब्यु गर्ने

0 Shares

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका सञ्जय राईले निर्देशनमा डेब्यु गर्ने नेपाली फिल्म **‘एक्का मिस्सी बादशाह’**को औपचारिक घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो।

लामो समयदेखि फिल्म निर्माण र निर्देशनप्रति रुचि राख्दै आएका राईले बेलायतमा रहँदा पनि आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तरता दिएका थिए। ‘एक्का मिस्सी बादशाह’ उनको पहिलो निर्देशकीय फिल्म हुनेछ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा देखिनेछिन्। उनले फिल्ममा ‘आश’ नामक पात्र निर्वाह गर्नेछिन्। निर्माण पक्षले उनको बोल्ड लुक सार्वजनिक गर्दै पात्रको पहिलो झलक पनि प्रस्तुत गरेको छ।

केही समयपछि नयाँ फिल्ममार्फत पर्दामा फर्किएकी सम्राज्ञीले आफूलाई मनपर्ने पात्र नपाएका कारण केही समय फिल्मबाट टाढा रहेको बताइन्। उनले **‘एक्का मिस्सी बादशाह’**मा भने फरक, साहसी र चुनौतीपूर्ण भूमिका पाएकाले फिल्ममा आबद्ध हुन सहमत भएको उल्लेख गरिन्।

‘मलाई यो फिल्मको पात्र निकै मन पर्‍यो। सुरुमा केही अन्योलमा थिएँ, तर निर्देशकले पात्रको गहिराइ र कथावस्तुबारे बताएपछि काम गर्ने निर्णय लिएँ,’ सम्राज्ञीले भनिन्।

उनका अनुसार निर्देशकले आफ्नो अभिनय दृष्टिकोणसँग मेल खाने गरी पात्र विकास गरेका छन्। ‘स्क्रिप्ट पढेपछि म निकै प्रभावित भएँ। मेरो पात्र साहसी, बोल्ड, निडर र दर्शकले यसअघि नदेखेको शैलीको छ,’ उनले थपिन्।

फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ। निर्देशक राईका अनुसार फिल्म युवापुस्ताको जीवन, मित्रता, प्रेम, सम्बन्ध, सामाजिक सञ्जालको प्रभाव तथा जीवनका उतारचढावमा आधारित हुनेछ।

‘यो युवा पुस्तालाई लक्षित मनोरञ्जनात्मक फिल्म हो। दुई साथीको यात्रामार्फत उनीहरूले प्रेम, परिवार, समाजको अपेक्षा र जीवनका चुनौतीलाई कसरी सामना गर्छन् भन्ने कथा प्रस्तुत गरिएको छ,’ निर्देशक राईले बताए।

फिल्ममा सुदीप्ता कार्यकारी निर्माता, एलोन गुरुङ लाइन प्रोड्युसर तथा सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजर रहेका छन्। छायांकन नरेन्द्र मैनाली, संगीत निर्माण निकेश कार्कीरोमन बज्राचार्य, सम्पादन सुनिल शिवभक्ति तथा स्टाइलिङ आशिम रानाभाटले गर्नेछन्। फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी गरिएको छ।

घोषणा कार्यक्रममा कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो करिअरको विशेष परियोजना भएको बताइन्। कार्यकारी निर्माताको रूपमा नेपाली फिल्म उद्योगमा नयाँ यात्रा सुरु गर्न लागेको उल्लेख गर्दै उनले यस परियोजनाप्रति उत्साहित रहेको प्रतिक्रिया दिइन्।

निर्माण पक्षले फिल्मका लागि ‘क्रिश’‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको जनाएको छ। निर्देशक राईका अनुसार यी भूमिकाका लागि खुला अडिसन आह्वान गरिएको छ। अन्य कलाकार तथा थप विवरण भने आगामी दिनमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

सम्बन्धित समाचार

सबै