‘एक्का तीन’मा कविता नेपालीको प्रवेश, पूजा शर्मासँग स्क्रिन शेयर गर्ने

0 Shares

काठमाडौं । अभिनेत्री तथा मोडल कविता नेपाली निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’मा मुख्य नायिकाको रूपमा अनुबन्धित भएकी छन्। उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले फिल्ममा उनको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो।

यसअघि नै फिल्मका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन्। कविताको प्रवेशसँगै फिल्मका तीन प्रमुख कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।

निर्देशक रुपेश तामाङका अनुसार ‘एक्का तीन’ एक्सन जनरामा निर्माण हुन लागेको फिल्म हो। उनले कविताले यसअघि प्रदर्शन गरेको एक्सन अभिनयलाई दर्शकले सकारात्मक रूपमा रुचाएकाले उनलाई फिल्मका लागि छनोट गरिएको बताए।

निर्देशक तामाङले फिल्ममा पूजा शर्मा र कविता नेपालीबीच दमदार अभिनय प्रतिस्पर्धा देख्न पाइने दाबी गरेका छन्। उनका अनुसार तीन मुख्य पात्रको कथामा आधारित फिल्ममा दुवै अभिनेत्री फरक शैलीका भूमिकामा प्रस्तुत हुनेछन्।

जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा सुमन गजमेरले लेखेका हुन्। फिल्मको छायांकन भदौदेखि सुरु गर्ने तयारी गरिएको छ।

कविता नेपाली यसअघि फिल्म ‘एक्लो’मा देखिएकी थिइन्। उक्त फिल्ममा उनको एक्सन अभिनयले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

सम्बन्धित समाचार

सबै