‘सिन्दुरे जात्रा’को छायांकन सकियो, मंसिर ४ मा रिलिज

0 Shares

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न भएको छ। पहिलो र दोस्रो चरणमा गरिएको छायांकन मंगलबार सकिएको निर्माण टिमले जनाएको छ।

गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको फिल्मको यात्रा भने सहज रहेन। पहिलो चरणको १५ दिनको छायांकनपछि मुख्य अभिनेता विजय बराल घाइते भएपछि सुटिङ केही समयका लागि स्थगित गरिएको थियो। उनको दाहिने हातको नाडीमा चोट लागेपछि उपचार र पूर्ण स्वास्थ्यलाभपछि दोस्रो चरणको छायांकन पुनः सुरु गरिएको थियो।

निर्देशक सरोज पौडेलका अनुसार दुई चरणमा सम्पन्न भएको फिल्मको छायांकनमा ४० दिन लागेको छ। कलाकार र प्राविधिकको मेहनतप्रति धन्यवाद व्यक्त गर्दै उनले दर्शकले मंसिर ४ गते गुणस्तरीय फिल्म हेर्न पाउने विश्वास व्यक्त गरे।

“हामीले धैर्य र मेहनतका साथ राम्रो फिल्म बनाउने प्रयास गरेका छौं। यो समर्पण र लगावका लागि सम्पूर्ण टिमप्रति आभारी छु। मंसिर ४ गते दर्शकले हलमा उत्कृष्ट फिल्म हेर्न पाउनुहुनेछ,” निर्देशक पौडेलले भने।

यस फिल्ममार्फत निर्देशक सरोज पौडेल तथा कलाकार विजय बराल र अञ्जना बराइली दोस्रो पटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफलमध्ये एक मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।

अभिनेता विजय बरालले हातमा चोट हुँदाहुँदै पनि छायांकन पूरा गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे। “हातको चोटका कारण सुटिङ केही कठिन भयो, तर फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर म निकै उत्साहित छु,” उनले भने।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंले लेखेका हुन्।

फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा रहेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।

रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै