सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ घोषणा

0 Shares

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को औपचारिक घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो।

सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको फिल्म ‘साम्राज्य’ लाई निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।

थिम पोस्टरमार्फत फिल्मको भव्यता र कथाको परिवेशबारे केही संकेत गरिएको छ। पोस्टरमा आगोको लप्कासहित घोडामा सवार मानिसहरू, पुराना राजसी पात्रहरू तथा द्वन्द्वको वातावरण देखिन्छ। केही दृश्यले विद्रोहीहरूको बस्ती वा आश्रयस्थलमा आगलागी भएको संकेत गरे पनि निर्माण पक्षले कथाबारे स्पष्ट जानकारी दिएको छैन।

पोस्टरमा देखिएको रातो कपडा वा झण्डाले क्रान्ति, संघर्ष वा रगतको प्रतीकात्मक संकेत गरेको छ। पृष्ठभूमिमा रामलीला शैलीका पात्रहरूको धमिलो आकृति देखिएकाले फिल्म कुनै ऐतिहासिक कालखण्ड वा विशेष सांस्कृतिक परिवेशसँग जोडिएको अनुमान गरिएको छ।

फिल्म एक्सन ड्रामा जनरामा निर्माण हुने जनाइएको छ। पछिल्ला फिल्महरूमा एक्सन र मेकिङका लागि प्रशंसा पाएका सौरभ चौधरी यसपटक अझ ठूलो क्यानभासमा काम गर्न लागेको निर्माण पक्षको भनाइ छ।

कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार ‘द राइज अफ साम्राज्य’ नेपाली फिल्म उद्योगकै सबैभन्दा ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ हुनेछ। उनले भने, “लाइनअप र मेकिङ दुवै हिसाबले यो अहिलेसम्मकै ठूलो स्केलको नेपाली फिल्म हुनेछ।”

हालसम्म निर्देशक, लेखक, निर्माता र डीओपीको नाम सार्वजनिक गरिए पनि कलाकारहरूको सूची गोप्य राखिएको छ। निर्माण टिमले केही दिनभित्र कलाकारहरूको घोषणा गर्ने जनाएको छ।

फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु गरिनेछ। अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र करिब ७० दिनको सुटिङ सेड्युल रहने जानकारी निर्माण टिमले दिएको छ।

निर्देशक सौरभ चौधरीले प्रदर्शन मिति तय गर्न हतार नगर्ने बताएका छन्। उनका अनुसार छायांकन सम्पन्न भई पोस्ट–प्रोडक्सनको अवस्था हेरेपछि मात्र रिलिज मिति घोषणा गरिनेछ।

फिल्मका डीओपी मानकृष्ण महर्जन हुन् भने एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मले नेपाली इतिहासको कुनै विशेष कालखण्ड प्रस्तुत गर्छ वा काल्पनिक साम्राज्यको कथा भन्नेछ भन्ने विषय अझै रहस्यमै छ। तर सार्वजनिक पोस्टरले ‘द राइज अफ साम्राज्य’ लाई वर्षकै बहुप्रतीक्षित नेपाली फिल्ममध्ये एकका रूपमा स्थापित गरिसकेको छ।

सम्बन्धित समाचार

सबै