काठमाडौं। निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन्। थिम पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो आगामी सिनेमाबारे औपचारिक जानकारी दिएका हुन्।
सार्वजनिक गरिएको पोस्टरमा दुर्गा मन्दिरको मूलढोकाअघि एक युवती एक्लै उभिएको देखिन्छ। ढोकाको अगाडि रहेको त्रिशूल र रातो रंगको प्रभावशाली प्रयोगले फिल्मको कथा रहस्य, शक्ति र संघर्षसँग जोडिएको संकेत गरेको छ।
फिल्मको शीर्षक ‘दुर्गा’ भएकाले यसको केन्द्रमा महिला पात्र रहने अनुमान गरिएको छ। पोस्टरमा युवतीले रातो पहिरन लगाएकी छन् भने मन्दिर परिसरमा पनि रातो रंगको प्रयोग प्रमुख रूपमा गरिएको छ। यसले कथामा हिंसा, प्रतिशोध वा देवी शक्तिसँग सम्बन्धित घटनाक्रम हुन सक्ने संकेत गर्छ।
यद्यपि, निर्माण टिमले ‘दुर्गा’ पात्र कसले निर्वाह गर्ने भन्ने खुलाएको छैन। कलाकार र प्राविधिक टोलीबारे पनि हालसम्म औपचारिक घोषणा गरिएको छैन।
निर्देशक बस्नेतका अनुसार मुख्य कलाकारको घोषणा छिट्टै गरिनेछ भने केही कलाकार अडिसनमार्फत छनोट गरिनेछन्।
“छिट्टै नै मुख्य कलाकारबारे जानकारी दिनेछौं। केही कलाकार अडिसनबाट पनि छनोट गर्ने तयारी गरेका छौं। यो मिथोलोजिकल फिल्म हुनेछ,” निर्देशक बस्नेतले बताएका छन्।
कुस्मण्डा र ग्लोबल रिल मोसन पिक्चर्स को ब्यानरमा निर्माण हुने फिल्मको कथा निश्चल ढुंगानाले लेखेका हुन्।
करिब ९० दिनको छायांकन तालिका तय गरिएको फिल्म काठमाडौं, पोखरा र चितवनमा छायांकन गरिनेछ। निर्माण टिमका अनुसार छायांकन आगामी असोजको पहिलो साताबाट सुरु हुनेछ।
सम्राट बस्नेतको पछिल्लो निर्देशित फिल्म ‘लाखे’ केही समयअघि प्रदर्शनमा आएको थियो। उक्त फिल्म हालै युट्युबमार्फत पनि सार्वजनिक गरिएको छ।