निर्माता सुशील पोखरेल अब निर्देशक, ‘प्रतिज्ञा’मार्फत निर्देशनमा डेब्यु

0 Shares

काठमाडौं। तीन दशकदेखि नेपाली फिल्म निर्माणमा सक्रिय निर्माता सुशील पोखरेल अब निर्देशकका रूपमा डेब्यु गर्ने भएका छन्। उनले हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘प्रतिज्ञा’ मार्फत पहिलोपटक निर्देशनको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै ‘प्रतिज्ञा’को औपचारिक घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा भगवान् शिवको विशाल स्वरूप, त्रिशूल र गाढा प्रतीकात्मक दृश्य प्रस्तुत गरिएको छ। पोस्टरमा “जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ” भन्ने ट्यागलाइन राखिएको छ, जसले फिल्म न्याय, संघर्ष र अटल संकल्पको कथामा आधारित रहेको संकेत गर्छ।

वि.सं. २०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र ‘परालको आगो’ लगायतका फिल्म निर्माण गरिसकेका छन्। ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ उनका सफल निर्माणमध्ये गनिन्छन्।

सात वर्षको अन्तरालपछि गत वर्ष ‘परालको आगो’ मार्फत निर्माता रूपमा पुनरागमन गरेका पोखरेलले यसपटक निर्देशनमा नयाँ यात्रा सुरु गरेका हुन्।

उनका अनुसार निर्माण क्षेत्रमा हासिल गरेको तीन दशकको अनुभवलाई निर्देशनमा रूपान्तरण गर्ने समय आएको महसुस भएपछि उनले यो निर्णय लिएका हुन्।

“नेपाली फिल्म उद्योगमा तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु। उत्कृष्ट कथावस्तुले नै मलाई निर्देशन गर्न प्रेरित गरेको हो,” पोखरेलले बताएका छन्।

फिल्म फ्यामिली थ्रिलर विधामा निर्माण हुनेछ। हाल प्रि–प्रोडक्सनको काम भइरहेको निर्माण टिमले जनाएको छ। छायांकन आगामी तिहारको आसपास सुरु गर्ने तयारी गरिएको छ भने फिल्मलाई नयाँ वर्ष २०८४ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

निर्माण टिमले कलाकार र प्राविधिक टोलीबारे विस्तृत जानकारी केही दिनभित्र सार्वजनिक गर्ने जनाएको छ।

Screenshot

सम्बन्धित समाचार

सबै