‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक, बुवा र जन्मभूमिप्रतिको प्रेमको सशक्त सन्देश

0 Shares

काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको गीतले परिवार, बुवा–आमा र जन्मभूमिप्रतिको सम्मान तथा जिम्मेवारीको भावलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोल रहेको गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ। गीतले जीवनमा जति ठूलो सफलता हासिल गरे पनि आफ्नो जन्मभूमि, परिवार र विगतलाई कहिल्यै नबिर्सनुपर्ने सन्देश दिन्छ।

रुख र जरा तथा माटो र पानीको सम्बन्धलाई प्रतीकका रूपमा प्रयोग गर्दै गीतले आफ्नो अस्तित्वको आधार परिवार र जन्मिएको माटो नै भएको भाव व्यक्त गरेको छ। गीतका ओजपूर्ण शब्द र मर्मस्पर्शी प्रस्तुतिले फिल्मको मूल कथा र भावनात्मक सन्देशलाई सार रूपमा उजागर गर्छ।

सार्वजनिक भिडियोमा दिव्यदेव, सुहाना थापा, झरना थापासहितका मुख्य कलाकार देखिएका छन्। बाल्यकालदेखि सन्तान हुर्काउने बुवाको संघर्ष, उनीहरू परदेशिँदा महसुस हुने एक्लोपन र पारिवारिक सम्बन्धका भावुक क्षणहरू भिडियोमा समेटिएका छन्।

फिल्मको मुख्य कथा नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीहरूमा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो उनको पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको कथा र पटकथा पनि लम्साल स्वयंले लेखेका हुन्।

वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, कृष्ण काफ्ले सह-निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर छन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्।

‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै