प्रेम, धोका र संघर्षको कथा बोकेको ‘लज्जावती’को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने **फिल्म ‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। **साउन १५ (खिर खाने दिन)**को अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले प्रेम, विश्वास, धोका, विछोड र त्यसपछि जीवनमा आउने संघर्ष तथा उतारचढावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। निर्देशक राजबहादुर सानेले दुई प्रेमिल जोडीको कथामार्फत सम्बन्ध, परिवार र समाजबीच उत्पन्न हुने द्वन्द्वलाई पर्दामा उतारेका छन्।

फिल्ममा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीको भूमिकामा छन्। उनीहरूको प्रेम, पारिवारिक सम्बन्ध र मित्रता सुरुवातमा सहज देखिए पनि समयसँगै अभाव, सामाजिक दबाब र जीवनका कठिन परिस्थितिले सम्बन्धलाई नयाँ मोडमा पुर्‍याएको ट्रेलरले देखाउँछ।

निर्देशक सानेका अनुसार ‘लज्जावती’ले प्रेम सम्बन्धमा आउने चुनौती, त्याग, संघर्ष र जीवनका यथार्थ पक्षलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ।

फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।

फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। दिव्यराज सुवेदीको छायांकन रहेको ‘लज्जावती’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै