काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गर्दै फिल्मको प्रेमकथाको पहिलो झल्को दर्शकमाझ ल्याएको हो।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने उनले विज्ञानी पराजुलीसँग मिलेर स्वर दिएका छन्। गीतले पहिलो नजरमै अंकुराउने प्रेम, त्यसपछि जन्मिने कल्पना र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ।
गीतमा एक युवकको मनमा सुन्दर युवतीप्रति जाग्ने आकर्षण, प्रेम र भविष्यका सपनालाई चित्रण गरिएको छ। भिडियोले त्रिकोणात्मक प्रेमकथाको संकेत गर्दै एक युवक र तीन युवतीबीच विकसित हुने सम्बन्धलाई रोमान्टिक शैलीमा देखाएको छ। यसबाट फिल्म पूर्ण रूपमा प्रेमकथामा आधारित रहेको आभास मिल्छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य रूपमा देखिएका छन्।
फिल्मलाई अभिनेत्री तथा निर्देशक रेखा थापाले निर्देशन गरेकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो उनको तेस्रो निर्देशकीय फिल्म हो।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली कला क्षेत्रका वरिष्ठ कलाकारदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्मको अभिनय रहेको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेलको अभिनय रहेको छ।
ध्रुव लम्सालको कथा तथा पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ।
फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। सुदीप बराल डीओपी रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन्। संगीत प्रशान्त शिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की तथा प्रोडक्सन सुमन तिवारीले सम्हालेका छन्।
‘माया भनेकै यस्तो होला’लाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।