काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन आगामी साउन २९ गतेदेखि सुरु हुने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै फिल्मको छायांकन यात्रा बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी हुन्।
झरनाका अनुसार फिल्मका छायाकार सञ्जय लामा रहनेछन्। उनले नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको प्रतीक बडीमालिकाबाट नयाँ फिल्मको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन्।
फेसबुकमा उनले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ फिल्म ‘ए मेरो हजुर ५’को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।”
उनले बडीमालिकालाई केवल धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा भएको उल्लेख गरेकी छन्। हिमाल, सभ्यता, संस्कृति र श्रद्धाको अद्भुत संगमका रूपमा रहेको बडीमालिकाले नेपाली मौलिकताको प्रतिनिधित्व गर्ने उनको भनाइ छ।
झरनाले प्रधानमन्त्री बालेन्द्र शाहले समेत बडीमालिकालाई सुदूरपश्चिमको गौरव तथा नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार–प्रसारमा जोड दिएको प्रसंग पनि स्मरण गरेकी छन्।
उनका अनुसार ‘ए मेरो हजुर ५’ नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण हुन लागेको हो। नेपालीपनलाई नयाँ शैलीमा पर्दामा उतार्ने विश्वास उनले व्यक्त गरेकी छन्।
झरना थापाकै निर्देशनमा बन्ने फिल्ममा सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्।
यस फिल्ममार्फत सुहाना र अनमोलले तेस्रो पटक सहकार्य गर्दैछन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा सँगै अभिनय गरेका थिए, जहाँ उनीहरूको जोडीलाई दर्शकले अत्यधिक रुचाएका थिए।
‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै फिल्म व्यावसायिक रूपमा सफल बनेका छन्। पहिलो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए भने त्यसपछि दोस्रो शृंखलादेखि झरना थापाले निर्देशन सम्हाल्दै आएकी छन्। अहिले उनी यही सफल शृंखलाको पाँचौं संस्करण लिएर दर्शकमाझ आउने तयारीमा छिन्।