काठमाडौं । आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘बेहुली’ले स्वदेशमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ। निर्माण पक्षका अनुसार फिल्मका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ।
निर्माण टिमले सार्वजनिक गरेका नयाँ पोस्टरअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि फिल्मको वितरण अधिकार विभिन्न अन्तर्राष्ट्रिय वितरक कम्पनीले खरिद गरेका छन्। यसले नेपाली फिल्मप्रति विदेशमा रहेका नेपाली समुदायबीच बढ्दो आकर्षणलाई संकेत गरेको निर्माण पक्षको विश्वास छ।
प्राप्त जानकारीअनुसार अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। त्यहाँ पनि फिल्म नेपालमै जस्तै भदौ २६ गते रिलिज हुनेछ।
त्यस्तै, अमेरिका र क्यानडाको वितरण अधिकार चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसनले प्राप्त गरेको छ। दुबई, कतार र बहराइनसहितका मध्यपूर्वी मुलुकहरूमा भने साथीभाइ इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्नेछ। यी बजारहरूमा पनि फिल्म नेपालकै प्रदर्शन मितिमा रिलिज हुनेछ।
बेलायत (यूके)मा भने प्रदर्शन अधिकार ९७७ इभेन्ट्सले खरिद गरेको छ। त्यहाँ फिल्म असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारी छ।
यसबीच निर्माण पक्षले फिल्मको प्रचार अभियानलाई पनि तीव्र बनाएको छ। हालसम्म फर्स्ट लुक पोस्टर र पहिलो गीत सार्वजनिक भइसकेका छन्। हालै रिलिज गरिएको ‘दिलमा ठाउँ छ’ बोलको लोकशैलीको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै डिजिटल प्लेटफर्ममा उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।
निर्माण पक्षका अनुसार सार्वजनिक भएको केही दिनमै उक्त गीतले युट्युबमा करिब ३० लाख भ्युज तथा टिकटकमा करिब ६ लाख भिडियो सिर्जना गराइसकेको छ। फिल्मका अन्य गीत र ट्रेलर भने क्रमशः सार्वजनिक गरिने जनाइएको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसैगरी दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसरका रूपमा रहेका छन्।