काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिका अभिनेता अरुण क्षेत्रीले निर्वाह गर्ने भएका छन्।
निर्माण टिमले हरिवंशको भूमिकामा को देखिने भन्ने कौतुहलता अन्त्य गर्दै अरुणलाई अनुबन्ध गरेको हो। वास्तविक जीवनमा मदनकृष्ण श्रेष्ठका कलाकारिता सहयात्री हरिवंश आचार्य थिए। अब पर्दामा मदनकृष्णको पार्टनरका रूपमा अरुण देखिनेछन्। अरुण हाल बक्सअफिसमा सफल फिल्म ‘गौँथली’का मुख्य कलाकारका रूपमा चर्चामा छन्।
अरुणले ‘म मदनकृष्ण’सँगै यही टिमले सिरिजको रूपमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकका लागि पनि एकैपटक सम्झौता गरेका छन्।
निर्देशक मिलन चाम्सका अनुसार सशक्त अभिनय गर्न सक्ने कलाकारको खोजी गर्ने क्रममा अरुणलाई हरिवंशको भूमिकाका लागि छनोट गरिएको हो।
“हामीले ‘म मदनकृष्ण’मा हरिवंशको भूमिकामा अरुणलाई लिएका छौँ। यससँगै हरिवंश आचार्यको जीवनकथामा बन्ने बायोपिकमा पनि उहाँकै भूमिकाका लागि अरुणलाई साइन गरेका छौँ,” मिलनले भने, “सशक्त अभिनय गर्ने कलाकारको खोजी गर्दै जाने क्रममा हामी अरुणसम्म पुगेका हौँ। उहाँलाई हरिवंशको भूमिकामा दर्शकले पक्कै मन पराउनुहुनेछ भन्ने लागेको छ।”
मदनकृष्ण श्रेष्ठको जीवनका सुख–दुःख, संघर्ष, आरोह–अवरोह तथा कलाकारिताको यात्रालाई समेटेर ‘म मदनकृष्ण’ निर्माण गर्ने घोषणा केही दिनअघि गरिएको थियो।
फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन्। चाम्सले यसअघि राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अन्जिला तुम्बाप्पेको जीवनमा आधारित बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए।
‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन्। यस्तै, शीर्ष महिला भूमिकामा केकी अधिकारी रहनेछिन्। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।
बायोपिकमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण पक्षलाई समेटिनेछ। फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्।
यसैबीच, ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको निर्माण टिमले जनाएको छ। नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले फिल्मको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकममा डिजिटल अधिकार सुरक्षित गरेको हो।
फिल्मको छायांकन भदौको दोस्रो सातादेखि सुरु गर्ने तयारी छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।