‘लज्जावती’को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक

0 Shares

काठमाडौं । फिल्म ‘लज्जावती’को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।

मर्मस्पर्शी भाव बोकेको गीतको भिडियोमा मेनुका माझी र श्रीकृष्ण निरौलाको प्रेम तथा प्रेमविछोडपछिको अवस्थालाई प्रस्तुत गरिएको छ। भिडियोमा श्रीकृष्णको भावुक अभिनय देख्न सकिन्छ। प्रेमिकाले छोडेर गएपछि उनी विक्षिप्तजस्तै बनेको र जहाँसुकै आफ्नो प्रेमिकालाई देखिरहेको दृश्यले गीतको पीडादायी भावलाई थप गहिरो बनाएको छ।

प्रेमिकाबाट छुटेपछि हराएका श्रीकृष्णलाई मुकुन भुसाल र जानुका विश्वकर्माले खोजिरहेको दृश्य पनि भिडियोमा समेटिएको छ।

थानेश्वर गौतमको स्वर रहेको गीत भीमकुमार ओझाले लेखेका हुन्। गीतमा सन्तोष बिसीको संगीत तथा नारायण दंगालको संगीत संयोजन रहेको छ।

यसअघि फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको थियो। उक्त गीत अहिले सामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चामा रहेको निर्माण टिमले जनाएको छ। फिल्मको ट्रेलर पनि यसअघि नै सार्वजनिक भइसकेको छ। गीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएको दाबी गर्दै निर्माण टिमले दोस्रो गीतलाई पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छ।

२९ साउनदेखि प्रदर्शनमा आउने फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। निर्देशक सानेका अनुसार फिल्मले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव, प्रेम, विछोड र संघर्षको कथा प्रस्तुत गर्छ।

फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै