काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको नेपाली फिल्म **‘तीन तीघ्रे क्या बिग्रे’**को छायांकन तेस्रो सातामा प्रवेश गरेको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको निर्देशनमा बनिरहेको फिल्म कमेडी जनरामा आधारित छ।
लामो समयदेखि फिल्म पत्रकारितामा सक्रिय रघुनाथ सापकोटाको लगानी रहेको फिल्मको छायांकन काठमाडौं उपत्यका तथा आसपासका विभिन्न स्थानमा भइरहेको छ। नेपाली फिल्म उद्योगमा नयाँपन प्रस्तुत गर्दै आफ्नै ब्रान्ड स्थापित गर्ने उद्देश्यसहित रघुजी फिल्म्सले दीर्घकालीन योजना अघि बढाएको निर्माण पक्षले जनाएको छ।
निर्माता सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन सम्पन्न भएलगत्तै यसअघि घोषणा गरिएको अर्को फिल्मको निर्माण प्रक्रिया सुरु गरिनेछ।
यसै फिल्ममार्फत पाँच नयाँ कलाकारले नेपाली फिल्ममा डेब्यु गर्दैछन्। नेपाली लोकसंगीतमा लोकप्रिय पशुपति शर्माले पहिलोपटक ठूलो पर्दामा अभिनय यात्रा सुरु गरेका छन्।
त्यस्तै, ‘कमेडी च्याम्पियन’मार्फत विभिन्न पात्रको नक्कल गर्दै लोकप्रिय बनेका प्रभात लामा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, टेलिचलचित्रबाट परिचित समिया कार्की तथा कमेडी सिरियलमार्फत चर्चामा आएका बेगम नेपालीले पनि फिल्ममा प्रमुख भूमिकाबाट डेब्यु गर्दैछन्।
नयाँ कलाकार र फरक अनुहारको संयोजन तथा कमेडी कथावस्तुका कारण ‘तीन तीघ्रे क्या बिग्रे’ले छायांकनकै क्रममा दर्शक र फिल्मकर्मीमाझ चासो बढाउन थालेको निर्माण पक्षको दाबी छ। पाँच डेब्यु कलाकारबाहेक फिल्ममा अनुभवी तथा नयाँ कलाकारको समेत अभिनय रहनेछ।
फिल्मको छायांकन संकल भुजेलले गरिरहेका छन्। निरज नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सगुन तामाङ मुख्य सहायक निर्देशक छन्। उत्सव पौडेल, सबिता रेग्मी र धर्मेन्द्र केसी सहायक निर्देशकका रूपमा छन्।
त्यस्तै, गणेश बानियाँ आर्ट निर्देशक, शमशेर लामा मेकअप प्रमुख तथा जीवन पोखरेल भेषभूषा प्रमुखको जिम्मेवारीमा छन्।
फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, रमेश बुढाथोकी, आयुष्मा गिरी तथा पवन खतिवडा ‘बाबा’ लगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।