‘महाराजधिराज’का लागि पुष्प खड्काको सिक्स प्याक, विराज भन्छन्– ‘अब १५ वर्ष पछि फर्किनु पर्दैन’

0 Shares

काठमाडौं । फिल्म ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको सिक्स प्याक बडीसहितको नयाँ तस्बिर सार्वजनिक भएको छ। फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको तस्बिर सार्वजनिक गर्दै उनले फिल्मका लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन्।

विराजले ‘महाराजधिराज’का लागि पुष्पले गरेको शारीरिक मेहनतलाई ‘तपस्या’को संज्ञा दिएका छन्। उनले कलाकारमा हुनुपर्ने गुण त्याग, तपस्या र संघर्ष भएको उल्लेख गर्दै पुष्पको मेहनत प्रशंसनीय रहेको बताएका छन्।

“आज गर्वका साथ भन्न सक्छु, कलाकारमा हुनुपर्ने गुण भनेकै ठूलो त्याग, तपस्या र संघर्ष हो,” विराजले फेसबुकमा लेखेका छन्, “‘महाराजधिराज’ चलचित्रका लागि गरेको त्याग, तपस्या र संघर्ष साँच्चिकै प्रशंसनीय छ।”

विराजले फिल्म प्रदर्शनपछि पुष्पले नेपाली फिल्म क्षेत्रमा लामो समयसम्म पछाडि फर्केर हेर्नुनपर्ने दाबीसमेत गरेका छन्। उनले ‘महाराजधिराज’पछि पुष्पको करिअरले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

यसअघि ‘महाराजधिराज’मा अनुबन्ध हुने क्रममा पुष्पले हात काटेर रगतको औँठाछापसहित सम्झौता गरेको विषय पनि चर्चामा आएको थियो।

फिल्मको छायांकन अहिले काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छायांकन भक्तपुर हुँदै हाल काठमाडौंमा जारी छ। फिल्मको कुल छायांकन तालिका ७० दिनको रहेको निर्माण पक्षले जनाएको छ।

परिच्छेद सेनको निर्देशन तथा लेखन रहेको फिल्मलाई नबराज थापाले छायांकन गरिरहेका छन्। निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ सोसल पिरियड ड्रामा हो।

फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र गजित विष्ट लगायतका कलाकारको अभिनय रहेको छ।

ठूलो संख्यामा कलाकार समेटिएको फिल्ममा हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटा पनि देखिनेछन्।

फिल्ममा करिब ८० जना कलाकारको अभिनय रहने बताइएको छ। कलाकारको सूचीमा कमल गाउले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढाल लगायत छन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।

सम्बन्धित समाचार

सबै