ओविदको निर्देशनमा ‘भिडियोटेप’, उपासना र कुन्दन प्रमुख भूमिकामा

0 Shares

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हरर फिल्म ‘भिडियोटेप’को घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्ने फिल्मको औपचारिक घोषणा गरिएको हो।

फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङमा सुरु हुनेछ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३० दिनसम्म चल्नेछ।

‘भिडियोटेप’मा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि महत्वपूर्ण भूमिका रहनेछ।

फिल्ममा वशिष्ट प्रधान डीओपीका रूपमा रहनेछन् भने ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हाल्नेछन्। महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्।

निर्देशक ओविद उद्दिनले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको भन्दै डेब्यू फिल्मका रूपमा यही जनरा रोजेको बताए। उनका अनुसार ‘भिडियोटेप’ काल्पनिक कथामा आधारित फिल्म हो र यसको कथा कुनै वास्तविक घटनासँग सम्बन्धित छैन।

उपासना सिंह ठकुरीले आफूले करिब एक वर्षअघिदेखि नै फिल्मको विषयमा कुराकानी गर्दै आएको बताइन्। कथावस्तु मन परेकाले फिल्मको छायांकनमा जान आफू उत्साहित रहेको उनको भनाइ छ।

नव–नायक कुन्दन मान शाक्यले पनि फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए।

निर्माण पक्षका अनुसार ‘भिडियोटेप’ करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण हुनेछ।

कार्यक्रममा एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ र सहयोग गर्न सबैलाई आग्रह गरे।

सम्बन्धित समाचार

सबै