‘म मदनकृष्ण’मा वर्षा राउत, रमिला पाठकको भूमिकामा

0 Shares

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्। निर्देशक मिलन चाम्सले उनलाई हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिकाका लागि अनुबन्ध गरेका हुन्।

फिल्ममा हरिवंश आचार्यको भूमिका अभिनेता अरुण क्षेत्रीले निर्वाह गर्नेछन्। अब वर्षा र अरुण पहिलोपटक जोडीका रूपमा पर्दामा देखिनेछन्।

“हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ। उहाँले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,” निर्देशक चाम्सले बताए।

निर्माण पक्षका अनुसार यही टिमले भविष्यमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि वर्षा रमिला पाठककै भूमिकामा देखिनेछिन्। अरुण क्षेत्री यसअघि नै हरिवंशको बायोपिकका लागि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्।

केही समयअघि रिलिज भएको फिल्म ‘मालती मंगले’मा वर्षाको अभिनयले प्रशंसा पाएको थियो।

‘म मदनकृष्ण’ले मदनकृष्ण श्रेष्ठको जीवनका सुख–दुःख, संघर्ष, सफलता र आरोह–अवरोहलाई समेट्नेछ। फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले यसअघि राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ निर्देशन गरेका थिए।

बायोपिकमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। त्यस्तै, केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निभाउनेछिन्।

फिल्ममा मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य र अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिनेछ।

‘म मदनकृष्ण’मा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्।

सम्बन्धित समाचार

सबै