‘पार्वती’को ‘मेरो दिदी’ गीत सार्वजनिक

0 Shares

काठमाडौं । भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

बाबुल गिरीको शब्द, संगीत र स्वर रहेको गीतमा अशोक दर्जीले पनि स्वर दिएका छन्। अशोक फिल्मका मुख्य कलाकारसमेत हुन्।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीलाई देख्न सकिन्छ। दिदी–भाइबीचको आत्मीयता र प्रेमलाई भावुक रूपमा प्रस्तुत गरिएको गीतले रक्षाबन्धनको परिवेशलाई समेत समेटेको छ।

गीतका शब्द र भिडियोमा देखाइएको भावबीच राम्रो मेल देखिन्छ। दिदी–भाइको सम्बन्धमा आधारित गीतले दर्शकलाई भावुक बनाउने अपेक्षा निर्माण पक्षको छ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको ‘पार्वती’मा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता र हरिहर अधिकारी निर्माता हुन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलर निर्माणको जिम्मेवारी साहिल खानले सम्हालेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन्।

फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

यसअघि फिल्मको ‘नौ तुनाको रेल’ बोलको गीत सार्वजनिक भइसकेको छ। रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत छ। नरेन्द्र वियोगीले गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।

सम्बन्धित समाचार

सबै