२५ वर्षपछि ‘गुराँस फुल्दा’को भयो पुनर्जन्म, ‘मास्टर्नी’मा रि–क्रिएट

0 Shares

काठमाडौं । सन् २००१ मा निर्माण भएको फिल्म ‘सुपरस्टार’को चर्चित गीत ‘गुराँस फुल्दा’ २५ वर्षपछि नयाँ स्वरूपमा फर्किएको छ। अभिनेत्री प्रियंका कार्कीको निर्माणमा बनेको फिल्म ‘मास्टर्नी’मा यो गीतलाई रि–क्रिएट गरेर समावेश गरिएको हो।

मूल गीतमा भारतीय गायिका साधना सरगमको स्वर, दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगीत थियो। नयाँ संस्करणलाई संगीतकार वसन्त सापकोटाले रि–क्रिएट गरेका हुन् भने मेलिना राईले स्वर दिएकी छन्। गीतको संगीत संयोजन सुहास शाक्यले गरेका छन्।

गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत परम्परागत पहिरनमा नृत्य गर्दै देखिएका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङ्गले छायांकन, सम्पादन तथा कलरको काम गरेका छन्।

‘मास्टर्नी’को यसअघि सार्वजनिक प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाट हटाइएको थियो। त्यसपछि फिल्मको प्रचारका लागि प्रियंकाले भुवन केसीबाट अनुमति लिएर ‘गुराँस फुल्दा’लाई रि–क्रिएट गरेकी हुन्।

नयाँ संस्करण सार्वजनिक भएसँगै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी मेलिना राईको स्वर तथा भिडियोमा प्रस्तुत मौलिक शैलीको दर्शकले प्रशंसा गरेका छन्।

भदौ ५ गतेदेखि प्रदर्शनमा आउने ‘मास्टर्नी’मा प्रियंका कार्की, सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सरोज खनाल, जितु नेपाल, ऋचा शर्मा र अनुपविक्रम शाहीसहितका कलाकारको अभिनय छ।

आयांका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्म निर्माण गरेका हुन्। भारतीय मूलका शुभेन्द्र घोषको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार हुन्।

प्रियंका कार्कीको कथामा बनेको फिल्मको पटकथा शान बस्नेतले लेखेका हुन्। संवाद प्रियंका र शान बस्नेतको रहेको छ। युवराज इन्दोरियाले छायांकन गरेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन्।

सम्बन्धित समाचार

सबै