काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्धित भएका छन्। ‘अगस्त्यः च्याप्टर १’बाट निर्देशकीय क्षमता देखाएका चौधरीले आफ्नो नयाँ प्रोजेक्टका लागि मल्ललाई पहिलो कलाकारका रूपमा अनुबन्ध गरेका हुन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई यस वर्षका बहुप्रतीक्षित प्रोजेक्टमध्ये एकका रूपमा हेरिएको छ। निर्माण पक्षले गत सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको थियो। त्यसको केही दिनमै पहिलो कलाकारका रूपमा सौगातको नाम सार्वजनिक गरिएको हो।
सौगात र निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सहकार्य गरेका थिए। उक्त फिल्ममा सौगातको अभिनयले प्रशंसा पाएको थियो। दोस्रोपटक सहकार्य गर्न पाउँदा दुवै पक्ष उत्साहित रहेको निर्देशक चौधरीले बताएका छन्।
“हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ। उहाँजस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो। अन्य कलाकारको छनोट प्रक्रिया जारी छ, जसको जानकारी हामी केही दिनमा सार्वजनिक गर्नेछौँ,” चौधरीले भने।
निर्माण पक्षका अनुसार ‘द राइज अफ साम्राज्य’मा सौगात चुनौतीपूर्ण भूमिकामा देखिनेछन्। उनले फिल्ममा २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको जीवनयात्रा प्रस्तुत गर्नेछन्। एउटै पात्रको लामो उमेर अवधि पर्दामा उतार्नु सौगातका लागि पनि अभिनयका दृष्टिले चुनौतीपूर्ण हुने देखिएको छ।
फिल्मको अर्को प्रमुख आकर्षण यसको कथा र पटकथा हो। चर्चित उपन्यासकार बुद्धिसागरले फिल्मको कथा तथा पटकथा लेखेका छन्। यसअघि सार्वजनिक थिम पोस्टरमा आगोको लप्का, घोडामा सवार पात्र तथा ऐतिहासिक राजकीय परिवेश झल्किने दृश्य देखाइएको थियो। यसले फिल्मलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गर्न लागिएको संकेत गरेको छ।
निर्देशक चौधरीले यसपटक आफ्ना अघिल्ला फिल्मभन्दा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले फिल्मलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन प्रोजेक्ट बनाउने दाबी गरेको छ।
फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार गरेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।
मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरक रहेको निर्माण पक्षले जनाएको छ।