काठमाडौं । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बा : एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक भएको छ। निर्माण पक्षले बिहीबार गीतको भिडियो सार्वजनिक गरेको हो।
हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ। नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको गीतले विवाह र उत्सवको माहोललाई प्रस्तुत गरेको छ।
गीतको भिडियोमा केकी अधिकारी र करण साहले नृत्य गरेका छन्। भिडियोमा एक युवकले युवतीसँग घरजम गर्ने प्रस्ताव राख्छन् भने युवतीले आफूले बुवाआमाले रोजेको युवकसँग विवाह गर्ने जवाफ दिन्छिन्।
सरकारी जागिरको प्रलोभन देखाउँदै विवाहको प्रस्ताव राखेपछि पनि युवतीले घमन्ड बोकेर हिँड्ने व्यक्तिसँग विवाह गर्न नसक्ने बताउँछिन्। यही संवादसँगै गीतको कथा टुंगिन्छ।
यसअघि फिल्मको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक भइसकेको छ। उक्त गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।
‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई फिल्मको मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
संगीतकार तथा गीतकार हरि लम्सालको फिचर फिल्म निर्देशनमा यो पहिलो प्रयास हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालकै हो।
वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्।
शिवराम श्रेष्ठले छायांकन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्। ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।