काठमाडौं । अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’को डबिङ तीव्र गतिमा भइरहेको छ। काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार समिरले आफ्नो भागको स्वराङ्कन गरेका हुन्।
निर्देशक विराज भट्टले समिरसँगै अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहेका छन्। फिल्मको पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।
‘१२ गाउँ २’ सन् २०२४ मा प्रदर्शन भएको सफल फिल्म ‘१२ गाउँ’को सिक्वेल हो। दशैंको अवसर पारेर असोज ३० गते अर्थात् फूलपातीको अघिल्लो दिनदेखि फिल्म प्रदर्शनमा आउनेछ।
विराज भट्टको निर्देशनमा बनेको पहिलो फिल्म ‘१२ गाउँ’बाट समिर भट्ट नेपाली फिल्ममा उदाउँदा स्टारका रूपमा स्थापित भएका थिए। पहिलो श्रृंखलाको सफलता र समिरको बढ्दो क्रेजका कारण यसको सिक्वेललाई पनि प्रतिक्षित फिल्मका रूपमा हेरिएको छ।
निर्माण पक्षका अनुसार ‘१२ गाउँ २’लाई पहिलो भागभन्दा ठूलो क्यानभास, नयाँ कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ। फिल्ममा एक्सनसँगै भावना र पारिवारिक कथालाई पनि प्राथमिकता दिइएको बताइएको छ।
डबिङ सकिएपछि फिल्मका गीत, ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गरिने निर्माण पक्षको तयारी छ।
‘१२ गाउँ २’मा विराज भट्ट, समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय छ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा महेश पौडेलको छायांकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ।