‘लज्जावती’मा के छ?, किन हेर्ने ?

0 Shares

काठमाडौं । प्रेम सुरु हुँदा सबै कुरा सुन्दर लाग्छ। तर, जब प्रेममा परिस्थिति, संघर्ष र गलतफहमी मिसिन्छन्, त्यही सम्बन्धले कस्तो रूप लिन्छ? यही प्रश्नको वरिपरि कथा बुन्दै फिल्म ‘लज्जावती’ साउन २९ गतेदेखि दर्शकमाझ आउँदैछ।

राजबहादुर सानेको निर्देशन रहेको ‘लज्जावती’ यसपटक उनको अघिल्ला फिल्मभन्दा फरक स्वादको कथा लिएर आएको छ। सामाजिक विषयमा आधारित फिल्म निर्देशन गर्दै आएका सानेले यसपटक प्रेम सम्बन्धभित्रका भावना, संघर्ष, पीडा र उतारचढावलाई कथाको केन्द्रमा राखेका छन्।

‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’ र ‘सिटामोल’जस्ता फिल्म निर्देशन गरिसकेका सानेका लागि ‘लज्जावती’ प्रेम कथातर्फको नयाँ यात्रा हो।

निर्देशक सानेका अनुसार फिल्मको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीले निर्वाह गरेका चार पात्रको वरिपरि घुम्छ। रोचक पक्ष के छ भने, फिल्मको शीर्षक पनि यी पात्रसँग जोडिएको छ।

फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन्। विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारले सहायक भूमिका निर्वाह गरेका छन्।

मुकुनको पहिलो लभस्टोरी

मुकुन भुसालका लागि ‘लज्जावती’ एउटा अर्थमा विशेष फिल्म हो। सामाजिक तथा गम्भीर चरित्रमा देखिँदै आएका मुकुन पहिलोपटक प्रेम कथाको मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्।

फिल्ममा उनी इ–रिक्सा चालकको भूमिकामा छन्। सामान्य जीवन बिताइरहेका उनको पात्र होटलकी साउनीसँग नजिकिएपछि कथाले नयाँ मोड लिन्छ। ट्रेलरमा देखाइएको उनीहरूको सम्बन्धले फिल्ममा प्रेमसँगै आउने संघर्षको संकेत गर्छ।

मुकुनले आफू पहिलोपटक लभस्टोरीमा काम गरेकाले फिल्मप्रति उत्साहित रहेको बताएका छन्।

“यो मेरो पहिलो लभस्टोरी कथा हो। यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिएँ। त्यसैले पनि सिनेमाप्रति उत्साहित छु।”

श्रीकृष्णको ‘पागलप्रेमी’ अवतार

अभिनेता श्रीकृष्ण निरौला भने फिल्ममा प्रेममा डुबेको पात्रका रूपमा देखिएका छन्। उनको चरित्रलाई निर्माण पक्षले ‘पागलप्रेमी’का रूपमा प्रस्तुत गरेको छ।

टिजर र ट्रेलर सार्वजनिक भएपछि उनको चरित्रले दर्शकको ध्यान खिचेको छ। श्रीकृष्णका अनुसार पहिलोपटक प्रेममा परेको व्यक्तिले प्रेमसँगै भोग्ने पीडा र उतारचढावलाई उनको पात्रमार्फत प्रस्तुत गरिएको छ।

“मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराइदिनुभएको छ। त्यसैले सिनेमाप्रति निकै आशावादी छु।”

श्रीकृष्णका लागि ‘लज्जावती’ दोस्रो फिल्म हो। यसअघि उनले ‘सिटामोल’मा सहायक भूमिका निर्वाह गरेका थिए।

मुकुन र जानुकाको प्रेम

जानुका विश्वकर्मा फिल्ममा भट्टी साउनीको भूमिकामा छिन्। उनी मुकुन भुसालको जोडीका रूपमा देखिएकी छन्। फिल्ममा उनको चरित्र रोमान्टिक रहेको उनले बताएकी छन्।

जानुका र मेनुका माझी दुवैका लागि ‘लज्जावती’ मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म हो। नयाँ कलाकारलाई केन्द्रमा राखेर प्रेम कथालाई फरक ढंगले प्रस्तुत गर्नु फिल्मको अर्को आकर्षणका रूपमा हेरिएको छ।

गीतदेखि ट्रेलरसम्म चर्चा

‘लज्जावती’को पोस्टर, टिजर र ट्रेलर सार्वजनिक भइसकेका छन्। फिल्मका ‘दिलको मोटर’ र ‘मलाई पिर परेको’ गीतले पनि दर्शकको ध्यान तानेका छन्।

ट्रेलरमा देखिएको प्रेम, पात्रहरूको सम्बन्ध र कलाकारको अभिनयले फिल्मप्रति चासो बढाएको निर्माण पक्षको दाबी छ।

प्रदर्शन मिति नजिकिएसँगै कलाकारहरू प्रचारमा सक्रिय छन्। मिडिया, विद्यालय र कमेडी शोमा पुगेर उनीहरूले फिल्मसँगै आफूले निर्वाह गरेका पात्रबारे दर्शकलाई जानकारी दिइरहेका छन्। प्रचारका क्रममा पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ।

दुई करोड लगानी

निर्माता कमलप्रसाद शर्माले कथा मन परेकै कारण आफू फिल्ममा जोडिएको बताएका छन्। प्रचार सामग्रीप्रति आएको सकारात्मक प्रतिक्रियाले फिल्मले दर्शक तान्ने र लगानी उठाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

निर्माण पक्षका अनुसार फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा बनेको हो।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता छन्।

तारा थापा ‘किम्भे’को सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन र दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।

अब ‘लज्जावती’ले नेपाली दर्शकलाई प्रेमको कुन कथा सुनाउँछ भन्ने निर्णय भने साउन २९ गतेदेखि हलमा हुने प्रदर्शनले गर्नेछ।

सम्बन्धित समाचार

सबै