‘ककाकिकी’को शीर्ष गीतमा अर्जुन सापकोटाको फिल्मी गायन डेब्यु

0 Shares

काठमाडौँ । लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’को शीर्ष गीतमार्फत उनले फिल्मी गायनमा प्रवेश गरेका हुन्।

अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर छ। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। निर्देशक बिक्की अगरवालका अनुसार गीतको भिडियोको छायांकनसमेत सम्पन्न भइसकेको छ।

गत बुधबार जर्सिङ पौवामा छायांकन गरिएको भिडियोमा फिल्मको कथाअनुसार गाउँमा हुने सेलिब्रेशनको दृश्य प्रस्तुत गरिएको छ। भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगरलगायत कलाकार फिचर्ड छन्।

गीतको भिडियोमा गायक अर्जुन सापकोटाले पनि नृत्य गरेका छन्। उनीसँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफी मिग्मा डी लेप्चाले गरेका हुन्।

निर्देशक अगरवालका अनुसार ‘ककाकिकी’को पोस्ट प्रोडक्सन अन्तिम चरणमा पुगेको छ। फिल्मको शीर्ष गीत यही साताको अन्त्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको छ।

‘ककाकिकी’मा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।

सुदीप बरालले छायांकन गरेको फिल्मको पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको ‘ककाकिकी’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै