काठमाडौं — सगरमाथाको साहस, चुनौती, रहस्य र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई केन्द्रमा राखिएको वृत्तचित्र **‘रोड टु एभरेस्ट’**को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पलाई प्रस्तुत गरेको छ।
नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’ पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।
दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।
वृत्तचित्रको मुख्य कथामा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी सगरमाथा यात्रालाई प्रस्तुत गरिएको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै आरोहणको सपना पछ्याउने गुरुङको यात्रा केवल हिमाल चढ्ने प्रयासमा सीमित छैन। निर्माण पक्षका अनुसार यो सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा हो।
निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको प्राकृतिक भव्यतासँगै आरोहणका जोखिम, शेर्पा समुदायको योगदान, मानवीय साहस र जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत प्रस्तुत गरेको छ। फिल्मले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा चित्रण गर्ने प्रयास गरेको छ।
‘रोड टु एभरेस्ट’मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा पनि देखिनेछन्। निर्माण पक्षका अनुसार फुर्वाले सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा आरोहण गर्नुका साथै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्। यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ सहयात्री पात्रका रूपमा देखिनेछन्।
निर्माण पक्षका अनुसार वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा हुनेछ भने अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा आयोजना हुनेछ। त्यसपछि नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल र सिनेमा हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
सामाजिक संस्था **‘वि विल राइज फाउण्डेसन’**ले निर्माण गरेको ५० मिनेट लामो वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउनु रहेको निर्माण पक्षले जनाएको छ।