‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम, विवाह र रहस्य

0 Shares

काठमाडौं — लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ। टिजरले प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको भावनात्मक द्वन्द्वलाई कथाको केन्द्रमा राखेको संकेत गरेको छ।

कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद सुनिन्छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ।’ यही संवादले फिल्मको मुख्य कथावस्तु र रहस्यतर्फ संकेत गर्छ।

टिजरअनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा नीति शाह र सृष्टि श्रेष्ठका दुई महिला पात्र प्रवेश गर्छन्। सुरुवातमा दिल र नीतिको सम्बन्धलाई प्रेमिल र रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ। उनीहरू सँगै रमाएका, भविष्यका सपना बुनेका र प्रेममा डुबेका दृश्य देखिन्छन्। तर कथाले अचानक मोड लिँदा दिल विवाहको मण्डपसम्म पुग्छन्, जहाँ उनले माया गरेको युवती भने देखिँदैनन्।

यसले टिजरमार्फत केही प्रश्न जन्माएको छ—नीतिको ठाउँमा अचानक सृष्टिको प्रवेश कसरी हुन्छ? उनीहरूबीचको सम्बन्ध के हो? वा कथाको केन्द्रमा कुनै पारिवारिक बाध्यता र रहस्य लुकेको छ?

टिजरमा कलाकारहरूको भावुक अवस्था, मदनकृष्ण श्रेष्ठको गम्भीर प्रस्तुति र पारिवारिक तनावका दृश्यले प्रेम र विवाहबीचको संघर्षलाई थप रहस्यमय बनाएको छ। यसले विवाह प्रेमभन्दा बाध्यता वा परिस्थितिको परिणाम बनेको हुन सक्ने संकेतसमेत गर्छ।

नीति शाहलाई चञ्चल र प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ भने सृष्टि श्रेष्ठको चरित्र गम्भीर र रहस्यमय देखिन्छ। नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा अर्को आयाम थप्ने संकेत गरेको छ।

यसअघिका फिल्ममा एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आएकी निर्देशक रेखा थापाले यसपटक भने भावनात्मक ड्रामालाई केन्द्रमा राखेकी छन्। टिजरमा समावेश ‘खुसी मेरो आँखामा देखियोस्, पीडा तिम्रो मनमा भए आँसु मेरै आँखाले बगाओस्’ जस्ता संवादले फिल्ममा प्रेमसँगै भावनात्मक उतारचढावलाई समेत प्राथमिकता दिइएको देखाउँछ।

दिल श्रेष्ठले आफ्नो साँचो प्रेम पाउँछन् कि प्रेमकै लागि बलिदान दिनुपर्ने अवस्थामा पुग्छन् भन्ने प्रश्नको उत्तर भने फिल्मले नै दिनेछ।

सुदीप बरालको छायांकन रहेको फिल्मका दृश्यले कथाको भावनात्मक पक्षलाई बलियो बनाउने प्रयास गरेका छन्। भदौ २६ गते प्रदर्शनमा आउने फिल्मले प्रेमकथामा रुचि राख्ने दर्शकसँगै पारिवारिक दर्शकलाई समेत हलसम्म आकर्षित गर्ने निर्माण पक्षको अपेक्षा छ।

फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्। ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र पारिवारिक परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्ममा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन, राजन घिमिरेको फिल्म संयोजन, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप र चुडामणी (सीएम)को प्रोडक्सन रहेको छ।

फिल्मको वितरणको जिम्मेवारी रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।

सम्बन्धित समाचार

सबै