निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर सार्वजनिक

0 Shares

काठमाडौं — चौधरी ग्रुपका निर्वाण चौधरी, नेपाली अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र भुटानी अभिनेता संगय छेल्ट्रिमको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक टिजरले नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहकार्यमा बनेको फिल्मको कथा र प्रस्तुतिको झलक दिएको छ। टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु र उग्येन दोर्जीलगायत कलाकार देखिन्छन्।

साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन्। मूलतः भुटानको राष्ट्रिय भाषा जोङ्खामा निर्माण गरिएको फिल्म नेपाल, भुटान र भारतका कम्पनीको संयुक्त लगानीमा तयार भएको हो।

फिल्मका संयुक्त निर्मातामध्ये पिक एक्सभी निर्वाण चौधरीको स्वामित्वमा रहेको निर्माण कम्पनी हो। उनका पिता तथा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले विसं २०३९ मा ‘वासुदेव’ निर्माण गरेका थिए। त्यसको करिब साढे चार दशकपछि निर्वाणले फिल्म निर्माणमा प्रवेश गरेका हुन्।

करिब छ महिनाअघि छायांकन सकिएको ‘टनेल २६’को अहिले थाइल्यान्डमा पोस्ट प्रोडक्सन भइरहेको छ। नेपाली, जोङ्खा र भारतीय भाषामा समेत प्रदर्शनको तयारी गरिएको फिल्मलाई नेपाली फिल्मलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।

डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ निर्माता प्रदीप खड्का हुन्।

क्रिएटिभ प्रोड्युसरका रूपमा समेत रहेका खड्काका लागि ‘टनेल २६’ निर्माणतर्फको चौथो फिल्म हो। यसअघि उनले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरिसकेका छन्।

निर्माण पक्षले फिल्मलाई अक्टोबरमा प्रदर्शन गर्ने तयारी गरेको छ। नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको संलग्नता रहेको फिल्म हलसँगै भारतको एक प्रतिष्ठित ओटीटी प्लेटफर्ममा समेत रिलिज गर्ने तयारी छ।

फिल्मको छायांकन दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङले गरेका छन्। एक्सन निर्देशन राजु तामाङ, प्रोडक्सन डिजाइन कृष्ण शर्मा, प्रोडक्सन व्यवस्थापन पेमा लामो तथा मेकअप र कस्ट्युम ब्लु छिरिङ दोर्जीको रहेको छ।

फिल्ममा तेर्डसाक जान्पानको संगीत, करण थामावोङको साउन्ड डिजाइन तथा रि-रेकर्डिङ मिक्सिङ, रथाकोरन टोङ्नुनको डाइलग एडिटिङ तथा फोली र निपान स्टुडियोको भिजुअल इफेक्ट्स रहेको छ। सम्पादन निर्देशक डीडी किन्लेले गरेका छन्।

सम्बन्धित समाचार

सबै