‘द राइज अफ साम्राज्य’मा नाजिर हुसेन, सौगात र दयाहाङसँग स्टारकास्ट थपिँदै

0 Shares

काठमाडौं — निर्देशक सौरभ चौधरीले आफ्नो आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन्। यसअघि मुख्य भूमिकामा सौगात मल्ल र दयाहाङ राई जोडिइसकेको फिल्ममा नाजिरको प्रवेशसँगै स्टारकास्ट थप बलियो बनेको छ।

नाजिर र निर्देशक चौधरीबीच यो पहिलो सहकार्य भने होइन। नाजिरले यसअघि सौरभ निर्देशित ‘अगस्त्य’मा अभिनय गरेका थिए।

नाजिरलाई फिल्ममा अनुबन्ध गर्नुको कारणबारे निर्देशक चौधरीले उनी बहुमुखी अभिनेता भएकाले मुख्य कलाकारका रूपमा रोजिएको बताए।

“नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन्। हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो चलचित्रमा सहकार्य गर्ने भएका छौँ,” चौधरीले भने, “सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो चलचित्रमा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ।”

सौगात, दयाहाङ र नाजिरपछि पनि थप चर्चित तथा क्षमतावान कलाकार फिल्ममा जोडिने क्रम जारी रहने निर्देशक चौधरीले बताएका छन्। यससँगै डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म मल्टिस्टारर बन्ने संकेत देखिएको छ।

फिल्मको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’को शैलीमा निर्माण हुनेछ।

यसपटक आफूले अघिल्ला फिल्मको तुलनामा ठूलो क्यानभासमा काम गर्न लागेको चौधरीको भनाइ छ। निर्माण पक्षले फिल्मलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन प्रोजेक्टमध्ये एक बनाउने तयारी गरेको जनाएको छ।

फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले करिब ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा हुने बताइएको छ।

फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को-प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।

फिल्ममा मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहेका छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डीसीएन वितरकका रूपमा जोडिएका छन्।

सम्बन्धित समाचार

सबै