‘तिनीहरू’को टोलीको नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति

0 Shares

काठमाडौं — कान्स फिल्म फेस्टिभलको यूएन सर्टेन रिगार्ड सेक्सनमा जुरी अवार्ड जितेर नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिनीहरू : इलिफेन्ट इन द फग’को टोलीले काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिएको छ।

कार्यक्रममा टोलीले फिल्ममा समावेश गीत ‘शादी के दिन में (ला ला ला ला)’मा प्रस्तुति तथा नृत्य गर्दै कार्यक्रमको सुरुवात गरेको थियो। त्यसपछि टोली एनआईयूको स्टलमा पुगेको थियो, जहाँ फिल्मको अर्को गीत ‘बलम’मा नृत्य प्रस्तुत गरिएको थियो।

फिल्मको टोलीको प्रस्तुतिमा दर्शक उत्साहित देखिएका थिए। कार्यक्रममा सहभागी दर्शकले फिल्मबारे चासो राख्दै नेपाल प्रदर्शनपछि हलमै पुगेर फिल्म हेर्ने इच्छा व्यक्त गरेका थिए।

टोलीले महेन्द्राको स्टलमा समेत विशेष प्रस्तुति दिएको थियो। त्यहाँ उपस्थित दर्शकले कलाकारलाई साथ दिँदै फिल्म हेर्न आफूहरू उत्साहित र प्रतीक्षारत रहेको बताएका थिए।

‘तिनीहरू : इलिफेन्ट इन द फग’ कान्स फिल्म फेस्टिभलको यूएन सर्टेन रिगार्ड सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म हो। उक्त सेक्सनमा छनोट भएर जुरी अवार्ड जित्दै फिल्मले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक पहिचान दिलाएको थियो।

यसैबीच, फिल्मको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा समेत सहभागी भएको छ। कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार र सम्मान प्रदान गरेको थियो।

कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा फिल्मका कलाकार तथा टोलीले सहभागीको प्रतिभाको प्रशंसा गर्दै उनीहरूको हौसला बढाएका थिए। उक्त कार्यक्रममा ‘तिनीहरू : इलिफेन्ट इन द फग’ मुभी पार्टनरका रूपमा समेत जोडिएको थियो।

फिल्मको टोलीलाई इन्फा अवार्डले पनि विशेष सम्मान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको योगदानका लागि फिल्मको टोलीलाई सम्मान गरिएको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले फिल्मको प्रशंसा गर्दै कान्स फिल्म फेस्टिभलमा भएको यसको वर्ल्ड प्रिमियरमा आफू सहभागी भएको अनुभव सुनाइन्।

उनले कान्समा फिल्मले पाएको करिब आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसन स्मरण गर्दै नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको उपलब्धि गौरवको विषय भएको बताइन्। उनले दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै नेपाली फिल्मलाई माया र समर्थन गर्नसमेत आह्वान गरिन्।

‘तिनीहरू : इलिफेन्ट इन द फग’ भदौ १९ गतेदेखि नेपालमा प्रदर्शन हुँदैछ।

सम्बन्धित समाचार

सबै