‘ऊनको स्वीटर’को सिक्वेल घोषणा, पियूष मिश्रा पनि प्रमुख भूमिकामा

0 Shares

काठमाडौं — २०८२ सालको सुपरहिट फिल्म **‘ऊनको स्वीटर’**को सिक्वेल निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा आयोजित तेस्रो इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्डको मञ्चबाट फिल्मको औपचारिक घोषणा गरिएको हो। सिक्वेलको नाम ‘कलेजी–ऊनको स्वीटर’ राखिएको छ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी दसैँपछि सुरु हुनेछ भने सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमार्फत शीर्षक सार्वजनिक गर्दै ‘ऊनको स्वीटर’को संसार नयाँ आशा, कथा र यात्रासहित फर्किन लागेको बताएका छन्। उनका अनुसार नयाँ फिल्म केवल सिक्वेल नभई अघिल्लो भागका पात्रहरूको जीवन र अधुरो यात्राको अर्को अध्याय हुनेछ।

सिक्वेलमा अघिल्लो फिल्मकै चर्चित जोडी विपिन कार्की र मिरुना मगर क्रमशः धरणीधर र फूलको भूमिकामा दोहोरिनेछन्। उनीहरूसँगै एलेक्स पारस र परीक्षा लिम्बू मुख्य भूमिकामा रहनेछन्।

फिल्मको अर्को आकर्षण भनेको भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्राको अभिनय हो। निर्देशक चौहानका अनुसार लामो समय लगाएर पटकथा पढेपछि र ‘ऊनको स्वीटर’ हेरेपछि मिश्राले फिल्ममा काम गर्न सहमति जनाएका हुन्।

निर्देशक चौहानले दर्शकको निरन्तर माग र अघिल्लो फिल्मको कथा अधुरो भएको महसुसका कारण सिक्वेल निर्माण गर्ने निर्णय गरिएको बताए। उनका अनुसार यसपटक ‘ऊनको स्वीटर’को कथा अझ फराकिलो बनाइनेछ।

‘सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने भावलाई आत्मसात् गर्दै अघि बढ्ने फिल्ममा धरणीधर र फूलको अधुरो प्रेमकथाको अर्को अध्याय सिक्किमबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिएका छन्।

अभिषेक सुवेदी सहलेखक रहेको फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्नेछन्। फिल्मको प्राविधिक तथा अन्य टिम क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। फिल्ममा नेपाल र भारतका प्राविधिकको समेत सहभागिता रहनेछ।

प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा करिब १२ करोड रुपैयाँको व्यापार गर्दै २०८२ सालको सफल फिल्म बनेको थियो। भारतमा समेत प्रदर्शन भएको फिल्मले करिब डेढ करोड भारतीय रुपैयाँ अर्थात् करिब २ करोड ४० लाख नेपाली रुपैयाँ कमाउँदै ५१ दिनको प्रदर्शन पूरा गरेको थियो।

फिल्मका ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’लगायत गीत दर्शकमाझ लोकप्रिय बनेका थिए।

पुरस्कारतर्फ पनि ‘ऊनको स्वीटर’ले उल्लेखनीय सफलता हासिल गरेको छ। राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको फिल्मले शनिबार सम्पन्न इन्फा अवार्डमा उत्कृष्ट निर्देशक, लेखक, अभिनेता, अभिनेत्री, गीत र संगीतसहित नौ अवार्ड जितेको छ।

त्यस्तै, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता तथा नेपाल क्रिटिक्स अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, लेखक र ब्याकराउन्ड म्युजिकको अवार्ड जितेको फिल्मले हालसम्म १९ वटा अवार्ड जितिसकेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै