काठमाडौं — ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)को इन्टरनेसनल फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्ने फिल्म छनोटका लागि आवेदन खुला गरिएको छ। नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ले मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई आवेदन दिन आह्वान गरेको हो।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा जारी सूचनाअनुसार इच्छुक फिल्म निर्माताले भदौ २२ गते (सेप्टेम्बर ७, २०२६)भित्र काठमाडौंस्थित समितिको सचिवालयमा आवेदन दर्ता गराउनुपर्नेछ।
ओस्कारको आधिकारिक नियमअनुसार ९९औँ अवार्डका लागि फिल्म १ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६भित्र आफ्नो देश वा क्षेत्रको व्यावसायिक सिनेमा हलमा कम्तीमा सात लगातार दिन टिकटसहित प्रदर्शन भएको हुनुपर्नेछ। यस्तो प्रदर्शन एकै हलमा लगातार सात दिन भएको हुनुपर्ने प्रावधान छ। अमेरिकाबाहेक अन्य देशमा पनि सात लगातार दिन व्यावसायिक प्रदर्शन भएको फिल्मले योग्यता पूरा गर्न सक्नेछ।
यसपटक ओस्कारले इन्टरनेसनल फिचर फिल्म विधामा अर्को बाटो पनि खुला गरेको छ। देशको आधिकारिक छनोट समितिबाट छनोट हुन नसके पनि तोकिएका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्ये बर्लिन, बुसान, कान्स, सनडान्स, टोरन्टो वा भेनिसमा सम्बन्धित विधाको क्वालिफाइङ अवार्ड जितेको गैर-अंग्रेजी भाषाको फिल्मले पनि ओस्कारमा विचारका लागि योग्य हुन सक्नेछ।
टेलिभिजन, भीओडी, डीभीडी, स्ट्रिमिङ, इन्टरनेट वा एयरलाइन इन्टरटेनमेन्टजस्ता गैर-थिएट्रिकल माध्यममा क्वालिफाइङ प्रदर्शनअघि सार्वजनिक भइसकेका फिल्म भने सामान्यतया अयोग्य हुनेछन्।
फिल्मको मौलिक संवाद तथा पूर्ण फिल्मको ५० प्रतिशतभन्दा बढी हिस्सा अंग्रेजीबाहेकको भाषामा हुनुपर्ने र स्पष्ट तथा पढ्न मिल्ने अंग्रेजी सबटाइटल अनिवार्य छ। साथै, नेपालबाट आधिकारिक रूपमा पठाइने फिल्मको सिर्जनात्मक नियन्त्रण मुख्यतः नेपाली नागरिक, नेपालमा बसोबास गर्ने व्यक्ति वा सम्बन्धित नियमले मान्यता दिएका व्यक्तिहरूको हातमा रहेको पुष्टि हुनुपर्नेछ।
समितिले जारी गरेको सूचनाअनुसार निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने, फिल्ममा नेपाली परिवेश तथा तत्त्व झल्किनुपर्ने र ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्ने मापदण्डसमेत राखिएको छ।
प्राविधिक रूपमा पनि फिल्मले ओस्कारको प्रदर्शनसम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेछ। एकेडेमीका अनुसार फिल्म ३५ एमएम वा ७० एमएम फिल्म अथवा तोकिएको मापदण्डअनुसारको डिजिटल सिनेमा फर्म्याटमा प्रदर्शनयोग्य हुनुपर्छ। डिजिटल प्रदर्शनका लागि DCP, २४ वा ४८ फ्रेमको प्रोग्रेसिभ स्क्यान तथा न्यूनतम २०४८ × १०८० पिक्सेल प्रोजेक्टर रिजोल्युसनको प्रावधान छ। सामान्य थिएट्रिकल अडियो कन्फिगरेसनमा ५.१ र ७.१ च्यानलसमेत स्वीकार्य छन्।
ओस्कारको आधिकारिक नियमअनुसार इन्टरनेसनल फिचर फिल्म विधाका लागि एक देशबाट एउटा मात्र आधिकारिक फिल्म स्वीकार गरिन्छ। चयन समितिले छनोट गरेको फिल्मलाई एकेडेमीमा पठाइन्छ र त्यसपछि एकेडेमीले अन्तिम योग्यता परीक्षण गर्छ।
एकेडेमीले ९९औँ ओस्कारको इन्टरनेसनल फिचर फिल्म विधाका लागि सम्पूर्ण आवेदन सामग्री सेप्टेम्बर ३०, २०२६सम्म प्राप्त गरिसक्नुपर्ने जनाएको छ। ९९औँ ओस्कार अवार्ड समारोह मार्च १४, २०२७मा आयोजना हुनेछ।
आवेदन तथा थप जानकारीका लागि नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ। समितिले उपलब्ध गराएको सम्पर्क इमेल [email protected] हो। नेपाल फिल्म डेभलपमेन्ट बोर्डले पनि यही समितिलाई ओस्कारका लागि नेपालको आधिकारिक छनोट गर्ने निकायका रूपमा उल्लेख गरेको छ।