काठमाडौं — लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका नीशा सुनारले नेपाल आएको अवसरमा नयाँ गीत ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक गरेकी छन्। रमाइलो शैलीमा तयार पारिएको गीतमा नीशासँगै खेम सेन्चुरीको स्वर रहेको छ।
रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र उषा उप्रेती देखिएका छन्। भिडियोमा उनीहरूलाई रोमान्टिक तथा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
गीतको भिडियो सुनिल बीकेले निर्देशन गरेका हुन्। अनिल के मानन्धरको छायांकन, प्रवीण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोले गीतको चञ्चल भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।
लामो समयदेखि अमेरिकामा रहे पनि नीशाले नेपाल आएको अवसरमा आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएकी हुन्। एक समय नेपाली संगीतमा लोकप्रिय रहेकी नीशाले अब नियमित रूपमा गायनमा सक्रिय हुने बताएकी छन्।
यसैक्रममा नीशाकै स्वरमा तयार भएको नयाँ तीज गीत पनि केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको छ।