‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’ खोज्दै निर्माण टिम

0 Shares

काठमाडौं — सञ्जय राईको डेब्यु निर्देशनमा बन्न लागेको नेपाली फिल्म **‘एक्का मिस्सी बादशाह’**का लागि दुई मुख्य पुरुष कलाकारको खोजी सुरु गरिएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै ‘कृष’ र ‘अर्जुन’ पात्रका लागि २५ देखि ३५ वर्ष उमेर समूहका कलाकारबाट आवेदन मागेको हो।

फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी आरएल शाह यसअघि नै अनुबन्धित भइसकेकी छन्। उनले फिल्ममा ‘आश’ पात्रको भूमिका निर्वाह गर्नेछिन्। अब निर्माण पक्षले साम्राज्ञीको जोडीका रूपमा देखिने दुई पुरुष पात्रका लागि कलाकार छनोट गर्न लागेको हो।

निर्माण पक्षका अनुसार पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावना प्रस्तुत गर्न सक्ने कलाकारलाई प्राथमिकता दिइनेछ। पोस्टरमा भनिएको छ, “हामी यस्ता कलाकारहरूको खोजीमा छौँ, जसले पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावनाहरू उतार्न सकून्।”

‘कृष’ परिस्थितिका कारण विशेष सुविधा पाएर तथा अपेक्षाको भारी बोकेर हुर्किएको भए पनि आफूलाई कुनै निश्चित परिभाषामा सीमित गर्न नचाहने पात्रका रूपमा प्रस्तुत हुनेछ। यता ‘अर्जुन’ दबाबबीच काम गर्ने, सधैँ जिम्मेवारी वहन गर्ने र स्थापित सीमाभन्दा बाहिर सोच्ने पात्रका रूपमा देखिनेछ।

अडिसनमा सहभागी हुन इच्छुक कलाकारले निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा रहेको क्यूआर कोडमार्फत आवेदन फाराम भर्नुपर्नेछ। त्यसपछि तोकिएको प्रक्रियाअनुसार अडिसन भिडियो बुझाउनुपर्नेछ। आवेदन दिने अन्तिम मिति भदौ १४ गते अर्थात् अगस्ट ३०, २०२६ तोकिएको छ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्म युवापुस्ताको कथामा आधारित हुनेछ। निर्देशक सञ्जय राईले गत साउन ९ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत फिल्म निर्माणको घोषणा गरेका थिए। फिल्ममा राईकै लगानी रहनेछ।

फिल्ममा सुदीप्ता कार्यकारी निर्माता, एलोन गुरुङ लाइन प्रोड्युसर र सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजरका रूपमा छन्।

फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी छ। नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा निकेश कार्की र रोमन बज्राचार्य संगीत निर्माता, आशिम रानाभाट स्टाइलिस्ट तथा सुनिल शिवभक्ति सम्पादकका रूपमा रहनेछन्।

सम्बन्धित समाचार

सबै