काठमाडौं — गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ। प्रेमिल भावमा तयार गरिएको गीतको म्युजिक भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्।
भिडियोले एकतर्फी प्रेम र त्यसले मानिसको जीवनमा ल्याउने परिवर्तनको कथा प्रस्तुत गर्छ। खुसीप्रति आकर्षित गौरव प्रेममा परेपछि आफूमा परिवर्तन ल्याउँछन्। प्रेम प्राप्तिको पर्खाइमा रहेका उनको यात्रा सफल हुन्छ कि हुँदैन भन्ने विषयलाई भिडियोको कथामार्फत प्रस्तुत गरिएको छ।
घामपानी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको भिडियोका निर्माता तथा कथाकार शान बस्न्यात हुन्। उनले नै भिडियोको कथा तथा पटकथा तयार गरेका हुन्। सरल र भावनात्मक शैलीमा तयार गरिएको भिडियो प्रकाश सिलवालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
अस्मिता रुचालको शब्दमा तयार गीतमा प्रकाश सिलवालकै स्वर र संगीत छ। गीतले प्रेमले मानिसमा ल्याउने प्रभाव र परिवर्तनलाई समेटेको गायक सिलवालले बताए।
“यो गीत प्रेमिल र सरल छ। एउटा केटाले आफूले मन पराएको मान्छेका लागि आफूमा ल्याउने बदलावसँगै अव्यक्त भावनालाई गीतमा प्रस्तुत गरेका छौँ। प्रेम गर्ने दर्शक यससँग जोडिनुहुन्छ भन्नेमा विश्वस्त छौँ,” उनले भने।
अभिनेता गौरव विष्टले गीतको शब्द, गायकी र भावनासँगै भिडियोको कथाले निर्माण गरेको पात्रलाई जीवन्त बनाउने प्रयास गरेको बताए।
“मेरो पात्र एकोहोरो माया गर्ने प्रेमी हो, जसले आफ्नो प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्छ, कुर्न सक्छ र आफूले मन पराएको मान्छेको खुसीमै आफ्नो मन बुझाउन सक्छ,” विष्टले भने।
भिडियोमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा ‘चरी’, युवक लामा ‘घाइते’, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायतको अभिनय छ।
प्रणव केसीको निर्देशनमा बनेको भिडियोमा संगम राईको डीओपी, अञ्जली रिजालको स्टाइलिङ, ज्योति केसीको मेकअप, अलिजा सिजावालको हेयर तथा देव न्यौपानेको साउन्ड रहेको छ।