‘माया बस्छ कि क्या हो !’ असोज २ मा रिलिज

0 Shares

काठमाडौं, ५ भदौ । प्रेमकथामा आधारित फिल्म ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। राजु अधिकारी निर्देशित फिल्म असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।

सार्वजनिक पोस्टरमा नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलालाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले उनीहरूबीचको प्रेम, सम्बन्ध र समर्पणको भाव झल्काउँछ।

शरद अधिकारीको प्रस्तुति रहेको फिल्मका निर्माता बहादुर सिंह तामाङ हुन्। आरती अधिकारी आचार्यको कथा तथा मौनता श्रेष्ठको पटकथा र संवाद रहेको फिल्ममा रामप्रसाद चौधरीको सम्पादन र रविन्द्र बरालको छायांकन छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायतका युरोपेली देशमा फिल्मको छायांकन गरिएको हो।

सोनाल र कस्मतासँगै फिल्ममा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलको अभिनय छ।

प्रेम, सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको फिल्मले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने प्रस्तुतकर्ता शरद अधिकारीको विश्वास छ। दर्शकलाई प्रेमको नयाँ अनुभूति गराउन युरोपका विभिन्न स्थानमा छायांकन गरिएको उनले बताएका छन्।

अधिकारीले यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौं’ लगायतका फिल्म निर्माण गरेका थिए। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मको वितरण नेशनल सिने ग्रुपले गर्नेछ।

 

सम्बन्धित समाचार

सबै