‘पार्वती’को ४ मिनेट लामो ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पार्वती’ को ४ मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर ओएसआर युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीबीचको दिदी–भाइको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ। अटिजम भएकी दिदी र उनको हेरचाह तथा सुरक्षाका लागि संघर्ष गर्ने भाइको सम्बन्धले ट्रेलरलाई भावुक बनाएको छ।

ट्रेलरमा अटिजम भएकी छोरीलाई उनका बुवाले विद्यालय भर्ना गराउने क्रममा समाजबाट हुने दुर्व्यवहार र विभेदलाई पनि देखाइएको छ। साथीहरूले जिस्क्याएपछि उनले प्रतिकार गर्दा थप आरोप र लाञ्छना खेप्नुपरेको दृश्यले फिल्मको सामाजिक पक्षलाई उजागर गर्छ।

नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोक मुख्य भूमिकामा छन्। उनीहरूसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ।

निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता छन्।

फिल्मको सम्पादन तथा टिजर र ट्रेलरको तयारी साहिल खानले गरेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

यसअघि फिल्मका ‘नौ तुनाको रेल’ र ‘दिदीभाइ’ बोलका गीत सार्वजनिक भइसकेका छन्। फिल्मका गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन्। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा हर्क साउदको शब्द र दीपक शर्माको संगीतसमेत रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

सम्बन्धित समाचार

सबै