३० फिट लामो पोस्टरसहित ‘डियर काव्या’ घोषणा

0 Shares

काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म **‘डियर काव्या’**को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन्। बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु फिल्म हुनेछ। उनी थिएटरका विद्यार्थी हुन्।

सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुल देखाइएको छ।

फिल्मलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन्। उनका लागि यो दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ। ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगरलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन्। दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन्। फिल्मका मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं हुन्।

घोषणा कार्यक्रममा निर्देशक प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरिन्। उनले ‘डियर काव्या’ आफ्नो दोस्रो निर्देशकीय फिल्म भएको बताउँदै यसका लागि आफूहरूले भरपूर मेहनत गर्ने उल्लेख गरिन्।

कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा फिल्ममा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन्। उनले फिल्म निर्माण आफ्ना लागि नयाँ अनुभव भएको उल्लेख गर्दै फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने बताइन्।

डेब्यु अभिनेता बिक्की समशेर खड्काले पहिलो फिल्मका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे। उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उनीहरूले आफूलाई विश्वास गरेर फिल्ममा लिएको बताए।

अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्मका लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन्। उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन्।

निर्माण पक्षका अनुसार फिल्मको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन मंसिरबाट सुरु गर्ने तयारी छ।

सम्बन्धित समाचार

सबै